इलाम :रुस्लान थ्रीस्टार क्लबलाई तेश्रो पटक हराउँदै झापा–११ विर्तामोडमा जारी मगमग झापा गोल्डकपको फाइनल प्रवेश गरेको छ। टाइव्रेकरमा ३–१ गोल अन्तरले थ्रीस्टारलाई हराउँदै चौथो पटक झापा फाइनल पुगेको हो।
जितसँगै आयोजक झापाले कम्तिमा ६ लाख ५ हजार रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ। निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि १५ मिनेट समय थप गरिएको थियो। थपिएको १५ मिनेटमा पनि कुनै गोल हुन नसकेपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएको थियो। टाइब्रेकरमा थ्री स्टारका रजिन धिमालले मात्र गोल गर्न सकेका थिए। बुद्ध लिम्बूको प्रहार रोकियो भने रूपेश केसी र मिक्चेन तामाङको प्रहार बाहिरियो।
झापाका हेमन गुरुङ र कर्ण लिम्बूको प्रहार थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले रोकेका थिए भने पुजन उपरकोटी, देबेन्द्र तामाङ, र गोलरक्षक दिनेश थापामगरले गोल गरका थिए झापा गोल्डकपको चौथो सिजनसम्म आइपुग्दा आयोजक झापा लगातार चौथो पटक फाइनलमा प्रवेश गरेको हो। यद्यपि झापाले हालसम्म उपाधि रक्षा भने गर्न सकेको छैन। पहिलो र तेश्रो संस्करणको फाइनलमा आर्मीसंग पराजित झापालाई दोश्रो संस्करणमा मनाङ मर्स्याङ्दीले पराजित गरेको थियो। खेलको २० औं मिनेटमा झापाका लागि विदेशी खेलाडी फ्रान्सिस ओएमीले गरेको कडा प्रहार पोष्ट नजिकैबाट बाहिरियो। ८२ औं मिनेटमा काजिम बुखासरीको हेडर बार छुँदै बाहिरिँदा झापाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो।
थ्री स्टारका सुशिल राईले मिलाएको पासलाई अजयी मार्टिनले डि बक्सबाट गरेको हेडर बाहिरियो। गोलरक्षक दिनेश थापामगर बीट भइसकेको अवस्थामा ३० औं मिनेटमा सशील राईको हेडर झापाका मिड दिलेन लोक्तामले जोगाए। ७३ औं मिनेटमा अजय मार्टिनको कडा प्रहार बारमा लागेर फर्कियो।
खेलको म्यान अफ द म्याच मगमग झापा ११ का गोलरक्षक दिनेश थापामगर घोषित भए। उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए। शनिबारको अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र क्यामरुनको दाफिन्स क्लबबीच हुने आयोजकले जनाएको छ।
जितपछि पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै झापाका प्रशिक्षक प्रवेश कटवालले नतिजाप्रति सन्तोष ब्यक्त गरे। मार्क गरेका खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसकेको उनले बताए। फाइनलमा आउने टीम हेरेर नयाँ रणनीति बनाउने उनले बताए। थ्री स्टारका प्रशिक्षक मेघराज केसीले निर्धारित समयमा स्कोर गर्न नसक्दा हार ब्यहोर्नुपरेको बताए। उनले दर्शकले उत्कृष्ट खेल हेर्न पाएको भन्दै खेल ब्यवस्थापनको प्रशंसासमेत गरे।







































