भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं.७ गुण्डू स्थित भैरबि आधारभूत विद्यालयमा गुण्डू बचत तथा ऋण सहकारी संस्था लि र लाइन्स क्लब अफ नेपालले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नंं ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा सहति ३५ जना पुरुष र १३ जना महिला गरी ४८ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो
कार्यक्रमको जिल्ला रेड्क्रस सोसाइटी भक्तपुरले प्राविधिक सहयोग गरेको थियो ।
रक्तदान कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवरले रक्त संकलन ब्याग सूर्यविनायक नगरपालिका वडाध्यक्षलाई सापकोटालाई हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा उपप्रमुख कुँवरले सामाजिक संघ संस्थाले रक्तदान कार्यक्रम गर्नु सराहनीय भएको भन्दै रक्तदान गर्दा मानविय स्वास्थ्यमा सकारात्मक परिवर्तन आउने बताउनुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं.७ का वडाध्यक्ष सापकोटाले रक्तदान गर्दा आफू र आफन्तलाई रगतको अत्यावश्यक पर्दाको पीडालाई स्मरण गर्दै रक्तदान गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले रगत खरिद गर्दा लाग्ने दस्तुर रगतको मूल्य नभइ रगत सुरक्षित राख्नका लागि लाग्ने खर्च मात्र भएको स्पष्ट पार्दै पैसाले रगत नपाइने बताउनुभयो ।
सो कार्यक्रममा भैरबि आधारभूत विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेतले रक्तदान कार्यक्रमको महत्व बारे प्रकाश पार्दै भैरबी आधारभूत विद्यालयका शैक्षिक गुणस्त्तरका बारेमा सहभागिलाई जानकारी गराउनुभयो । उहाँले आगामी शैक्षिक सत्रमा सबै अभिभावकको रोजाइ भैरबि आधारभूत विद्यालय बन्नुपर्ने बताउनुभयो ।
गुण्डू बचत तथा सहकारी संस्था लि का अध्यक्ष गणेशबहादुर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लाइन्स क्लबका अध्यक्ष कुमार लामाले विभिन्न सामाजिक क्रिर्याकलापमा सक्रिय क्लबले आगामी शैक्षिक सत्रमा भैरबि आधाभूत विद्यालयका विद्यार्थीलाई एक हजार प्रति कापी, कलम लागतका स्टेशनरी सामान वितरण गर्ने जानकारी दिनुभयो ।