भक्तपुर । बिस्का जात्राका क्रममा भक्तपुरको मध्यपुर थिमीमा जिबे छेड्ने जात्रा जिब्रो छेडाउनेको अभाव हुन थालेको छ । बोडेमा जिब्रो छेड्ने जात्रामा नयाँ अनुहारले जिब्रो छेड्ने नपाउँदा यस वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् ।
जिब्रो छेड्न कोही व्यक्ति तयार नभएर जात्रा नै रोकिने अवस्था आएपछि बोडेका ४७ वर्षीय बुद्धकृष्ण जिब्रो छेड्न तयार भएका हुन् ।
उनले यसअघि २०६२ देखि २०६५ सालसम्म चारपटक जिब्रो छेडिसकेका छन् । त्यस्तै २०७४ सालदेखि निरन्तर जिब्रो छेड्दै आएका छन् ।
प्रत्येक वर्ष हुने उक्त जात्राको परम्परा अनुसार जिब्रो छेड्न कोही अघि नसरेपछि संस्कृति बचाउन आफू सातौं पटक तयार भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।
उनका अनुसार वैशाख २ गते जिब्रो छेड्ने जात्रा भए पनि शनिबारदेखि जिब्रो छेड्ने व्यक्तिले त्यसका लागि आवश्यक प्रक्रिया सुरु गर्नुपर्छ । उनले भने, ‘कोही नयाँ नआएपछि परापूर्व कालदेखि चलिआएको संस्कृति जोगाउन मैले फेरि हिम्मत गरेको छु ।’
परम्पराअनुसार प्रत्येक वर्षको वैशाख २ गते बोडेको गणेश मन्दिरमा जिब्रो छेड्न जात्रा हुँदै आएको छ । जात्रामा जिब्रो छेड्ने व्यक्तिले जिब्रो छेड्ने तीन दिनअघिदेखि केही खानुहँदैन । जिब्रो छेड्न व्रत बस्दा कुकुर, हाँस, कुखुरा र महिलालाई समेत छुन नहुने चलन छ ।
जिब्रो छेड्ने व्यक्तिले पराम्पराअनुसार आफूलाई सहयोग गर्ने व्यक्तिलाई भोजसमेत खुवाउनुपर्छ । यसका लागि मध्यपुर थिमि नगरपालिकाले १ लाख ३७ हजार ५ सय सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।
जिब्रो छेडाउने व्यक्ति अर्थात कर्मी नाइकेको अभाव रहेको बताउँदै उनले भने, यसवर्ष कृष्णचन्द्र बाग श्रेष्ठको ढाडमा समस्या भएपछि जिब्रो छेडाउने व्यक्तिको अभाव रहेको बताए ।