एसियन सिनियर भलिबल सेन्ट्रल जोनः नेपालले उपाधिका लागि उज्वेकिस्तासँग खेल्दै

25

नेपालले आज बंगलादेशमा जारी एसियन सिनियर भलिबल सेन्ट्रल जोनअन्तर्गत महिलातर्फको उपाधिका लागि  उज्वेकिस्तान खेल्दै छ।

ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समय अनुसार मंगलबार बिहान ११:१५ बजेबाट खेल सुरू हुनेछ।

साविक विजेतासमेत रहेको नेपालले जारी प्रतियोगितामा अपराजित रहँदै लगातार पाँच खेलमा जित हात पारेको छ।

नेपाललाई आज अपराजित रहँदै सेन्ट्रल जोनको उपाधि जित्ने ठूलो अवसर पनि छ ।

राउण्ड रोबिनको लिग खेलमा नेपालले उज्वेकिस्तानलाई ३-० को सोझो सेटले हराएको थियो।

महिलातर्फको तेस्रो स्थानका लागि श्रीलंका र किर्गिस्तानले खेल्नेछन्।

पुरूषतर्फ नेपालले तेस्रो स्थानका लागि आजै उज्वेकिस्तानसँग खेल्दैछ। नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो सवा १ बजे हुनेछ।

राउण्ड रोबिनको लिग चरणमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो।