नेपालले अफ्रिकी राष्ट्र मौरिसससँग काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेल्ने

92

नेपालको राष्ट्रिय पुरूष फुटबल टोलीले मौरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

सन् २०२२ को  जनवरी २९ र फेब्रुअरी १ मा नेपालले काठमाडौंमा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फिफा वरीयतामा १७२ औं स्थानमा रहेको अफ्रिकी राष्ट्र मौरिसससँगको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ। दुवै मैत्रीपूर्ण खेलहरू फिफा अन्तर्राष्ट्रिय म्याच क्यालेन्डर मितिअन्तर्गत पर्छन्।

यसअघि नेपालले पछिल्लोपटक दशरथ रंगशालामा भारतविरूद्ध मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालले पहिलो खेल बराबरी र दोस्रो खेलमा हार व्यहोरेको थियो।

नेपाल आइपुगे अल्मुताइरी

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी मंगलबार नेपाल आइपुगेका छन्। करिब दुई महिना नेपाल बाहिर रहेका उनी काठमाडौं आएका हुन्।

उनले ‘ए’ डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गर्दै मैत्रीपुर्ण खेलको लागि टोली तयार पार्नेछन् ।

सन् २०२२ जनवरी १ देखि २०२४ सम्म नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्ने गरि उनले सम्झौता गरेका छन्। कतार फुटबल संघको सहयोगमा उनी नेपाल आएका हुन् ।