काठमाडौं । नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका थप २४ वटा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको जनाएको हो ।
देशभरबाट पीसीआर र एन्टीजेन विधिबाट संकलन गरिएका नमुनालाई जिन सिक्वेन्सिङ गर्दा ती नमुनामा एस-जिन नेगेटिभ पुष्टि भएको हो ।
यसअघि नेपालमा ओमिक्रोनका तीनवटा संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपालमा ओमिक्रोनका २७ वटा केस पुष्टि भएका छन् । ओमिक्रोन भेरिअन्टले हुनसक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले आग्रह गरेको छ ।
साथै, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइएको छ ।
सीमा नाकामा कोरोना परीक्षणलाई थप सशक्त बनाउने तथा संक्रमण देखिएका केसलाई आइसोलेसनमा राखिने समेत जनाइएको छ ।
काठमाडौंका वीर, निजामती, वीरेन्द्र सैनिक, टिचिङ, प्रदेश २ को प्रदेश जनप्रयोगशालामा एस-जिन सिक्वेन्सिङ हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म उपलब्ध तथ्यांकलाई आधार मान्ने हो भने मुलुकमा ओमिक्रोनका केसहरु बढ्ने अनुमान मन्त्रालयले गरेको छ । भेरिअन्टबाट बच्न जनस्वास्थ्यका मापदण्डलाई पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।