लिग लिडर चेल्सीको सहज जित, उपाधि जित्ने सम्भावना बलियो हुँदै

462

काठमाडौं, बैशाख १३— लिग लिडर चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सीले उथह्याम्प्टनमाथी ४–२ को सहज जित निकालेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन डिएगो कोस्टाले दुई तथा इडन हजार्ड र ग्यारी काहिलले समान एक एक गोल गरे । साउथह्याम्प्टनका लागि ओरिओल रोमेउ र रायन बट्रेन्डले एक एक गोल गरे ।

जितसंगै चेल्सीले लिगमा दोस्रो स्थानको टोटनह्याममाथी सात अंकको अग्रता कायम गरेको छ । स्ट्यामफोर्ड ब्रिजमा खेलको पाँचौं मिनेटमा हजार्डको गोलबाट चेल्सीले सुरुवाति अग्रता लिएको थियो । खेलको २४ औं मिनेटमा साउथह्याम्प्टनका रोमेउले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, पहिलो हाफको इन्जुरी समयमा काहिलले गोल गरेपछि पहिलो हाफमा चेल्सीले २ – १ को अग्रता बनायो ।

दोस्रो हाफमा कोस्टा खेलमा छाउदै दुई गोल गरेपछि चेल्सीले सहज जित निकाल्यो । खेलको ५३ औं मिनेटमा कोस्टाले गोल गर्दै चेल्सीको अग्रता ३ – १ को बनाए । खेलको ८९ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले ४–१ को अग्रता लियो । त्यसपछि खेलको इन्जुरी समयमा साउथह्याम्प्टनका बट्रेन्डले एक गोल गरेपनि चेल्सीले ४–२ को महत्वपूर्ण जित पायो ।

यो जितसँगै चेल्सीले ३३ खेलबाट ७८ अंक बनाएको छ । र, चेल्सी दोस्रो स्थानको टोटनह्याम भन्दा सात अंकले अघि रहेको छ । एक खेल कम खेलेको टोटनह्यामको ७१ अंक छ । तेस्रो स्थानमा रहेको लिभरपुलको ३४ खेलबाट ६६ अंक रहेको छ ।