नयाँदिल्ली: बक्स अफिसमा लगातार दैनिक नयाँ रेकर्ड तोडिरहेको एसएस राजामौलीको फिल्म ‘बाहुबली-२’ ले कमाईको एक नयाँ इतिहास रचेको छ । बाहुबली एक हजार करोड रुपैयाँ कमाउने पहिलो भारतीय फिल्म पनि बनेको छ ।
बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जौहरले पनि आफ्नो ट्विटर ह्यान्डलबाट फिल्मले एक हजार करोडको आँकडा पार गरेको समाचार दिएका छन् । उने यो फिल्म भारतीय सिनेमाका लागि कोशेढुंगा सावित हुने पनि बताएका छन् ।
समाचार अनुसार ‘बाहुबली-२’ ले केबल नौ दिनमै यो आँकडा पार गरेको हो । ‘बाहुबली-२’ ले भारतमा आठ सय करोड भन्दा धेरैको कमाई गरेको छ । अर्कातिर विदेशमा पनि यो फिल्मले लगभग २०० करोडको व्यापार गरिसकेको छ ।
अहिले पनि यो फिल्मका हाउसफुल शो हेरेपछि कम्तिमा पनि १५ सय करोड भारतीय रुपैयाँको आँकडा पार गर्ने अनुमान गरिएको छ ।
फिल्मका अभिनेता प्रभासले आफ्नो फेसबुक पेजमा फ्यानहरुलाई फिल्मको सफलताबारे खबर दिँदै आफूहरुलाई गरेको मायाप्रति एक विशेष नोट पनि लेखेका छन् ।
यो फिल्म विश्वभरका ९००० पर्दामा एकसाथ रिलिज भएको थियो । यो फिल्म मूल रूपमा तेलुगू भाषामा बनेको छ । यसलाई हिन्दीसहित ६ भाषामा रिलिज गरिएको हो । यस फिल्ममा प्रभास, राणा दग्गुबत्ती, अनुष्का शेट्टी, राम्या कृष्णन, नासिर र सत्यराज मुख्य भूमिकामा रहेका छन् ।
रिलिजको पहिलो सातामै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड बनाइसकेको ‘बाहुबली-२ लाई लिएर निर्माता राजामौलीलाई प्रशंसाका शब्दको बर्षा भइरहेको छ ।