भक्तपुरमा त्रिरत्न ग्वाछा स्मृति खुला बुद्धिचाल सुरु 

52

भक्तपुर । भक्तपुरको गोल्मढीस्थित युवा टिम भक्तपुरको आयोजनामा शुक्रवारदेखि स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता जेठ १२ र १३ गते दुई दिन हुने छ ।

टिमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता भएको हो । ग्वाछाको झन्डै महिना दिन अघि अल्पायुमै अकल्पनीय निधन भएको थियो । उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए ।

प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका गरी एक सय २० जना भन्दा बढी प्रतिस्पर्धीहरू प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा विदेशी खेलाडीहरूसमेत सहभागी रहेको जनाइएको छ ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था रहेको आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले बताए । उनका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई नगद रु २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । साथै चौथो हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँच हजार नगद पुरस्कारको व्यवस्था रहेको छ ।

भक्तपुर युवा टिम भक्तपुरकै एउटा पुरानो खेलकुद खेलकुद टिम हो । यसले प्रत्येक वर्ष भक्तपुर कप खुल्ला फुटबल प्रतियोगिता गर्दै आइरहेको छ । टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, भक्तपुर नगरपालिका खेलकुद समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं १ का अध्यक्ष श्यामकृष्ण खत्री, आयोजक टिमका अध्यक्ष केशव त्वानाबासु, पूर्व अध्यक्ष तुल्सीराम ग्वाछा, मृतक ग्वाछाका सुपुत्रलगायतले बुद्धिचाल खेलका विविध पक्षबारे चर्चा गरे ।