भक्तपुर । युवा बचत तथा ऋण सहकारीले लम्की स्किन पीडित किसानलाई राहत दिने भएको छ । आफ्ना ग्राहक साना किसानलाई राहत दिने उद्देश्यका साथ सहकारीले आफ्ना ग्राहकलाई राहत दिने भएको हो ।
चाँगुनारायण नगरपालिका वडा नं. ६ मा यसको मुख्य कार्यालय रहेको सहकारीको कार्यक्षेत्र नगर भित्रका विभिन्न वडा रहेका छन् ।
युवा साकोसले लम्की स्किन रोगबाट पशु धनको क्षति भएका आफ्ना सदस्य किसानलाई प्रत्येक घर अनुसार राहत दिने संस्थाका सचिव जयराम बास्तोलाले जानकारी दिनुभएको छ ।
बास्तोलाले भन्नुभयो “यदि हाम्रो सदस्यको घरमा पालेका गाई भैँसीको सो रोगबाट मृत्यु भएमा ३ हजारप्रति पशुको हिसाबले राहत दिन्छौ ।”
एक वर्ष उमेर भन्दा कमका बाच्छा-बाच्छी वा पाडा-पाडीको मृत्यु भएमा सहकारीले २ हजार दिने सहकारीले निर्णय गरेको बास्तोलाले जानकारी दिनुभयो ।
संस्थाका सदस्यले यदि पशु चौपाय खरिद गर्न चाहेमा विना व्याज ५० हजार रुपैयाँ सम्म लोन समेत उपलब्ध गराउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
लिएको लोनको किस्ता भने किसानले तीन महिना भित्रमा सहकारीमा चुक्ता गरी सक्नु पर्ने छ । बास्तोलाका अनुसार सदस्यहरूले राहत लिन र निर्ब्याजी रकम लिन संस्थाको नियममा रहेर प्रक्रिया अगाडी बढन सक्ने जानकारी दिनुभयो ।