खेलकुदको जस्तो अनुशासन राजनीतिमा पनि आवश्यक : मन्त्री लामा 

45

 

भक्तपुर । बागमती प्रदेशका खानेपानी सिँचाई तथा ऊर्जा मन्त्री तीर्थ लामाले खेलकुदमा जस्तै अनुशासन राजनीतिमा पनि हुनु पर्ने बताउनुभएको छ ।

विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको कराते खेलको उद्घाटन गर्दै उहाँले खेलकुदमा जस्तो राजनीतिमा पनि अनुशासनको आवश्यकता भएको बताउनुभएको हो ।

मन्त्री लामाले खेलकुदको शुभारम्भ गर्दै जसरी खेलकुदमा अनुशासन हुन्छ त्यसै गरी राजनीतिमा पनि अनुशासन हुने हो भने देश विकासमा धेरै समय नलाग्ने उहाँको भनाई थियो ।

उहाँले खेलाडी राष्ट्रको गहना हुन भन्दै खेलकुदको विकासमा राष्ट्रले लगानी गर्नु बताउनुभयो । उहाँले आफू खेलकुदको विकासमा जस्तो पनि योगदान दिन तयार भएको समेत बताउनुभएको थियो ।

मन्त्री लामाले नेपालले विश्व विजय गर्ने भनेको खेलकुदबाट मात्र सम्भव भएको बताउँदै खेल क्षेत्रको विकासमा सबै एक जुट भएर लाग्नु पर्ने बताउनुभएको थियो ।

विद्या आर्जन शाखा डोजोको आयोजनामा एक दिने कराते प्रतियोगिता थालनी भएको छ ।

कराते प्रतियोगितामा ३ सय भन्दा बढी खेलाडी सहभागी रहेको डोजोका अध्यक्ष सूर्य बहादुर लामाले जानकारी दिनुभयो ।