‘माइक्रोबियल इकोलोजी’को तीनदिने दक्षिण एसियाली सम्मेलन सम्पन्न

77

काठमाडौं । माइक्रोबियल इकोलोजीको तीनदिने दक्षिण एसियाली सम्मेलन नेपालमा सम्पन्न भएको छ । कात्तिक १५ देखि १७ गतेसम्म काभ्रेको धुलिखेलमा तीनदिने सम्मेलन आयोजना भएको थियो ।

सम्मेलनलाई त्रिभुवन विश्वविद्यालय र माइक्रोबियल इकोलोजी नेटवर्क नेपालले आयोजना गरेको हो । सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा इन्टरनेसनल सोसाइटी फर माइक्रोबियल इकोलोजी (इज्मी)को प्रमुख प्रायोजन रहेको थियो ।

तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन शिक्षामन्त्री अशोककुमार राईको प्रमुख आतिथ्यतामा भएको थियो । सम्मेलनको समापन धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुको प्रमुख आतिथ्यतामा भएको थियो ।

अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एसियाका सुक्ष्म जीव विज्ञान र जैविक प्रविधि विज्ञानका वैज्ञानिक, अन्वेषक तथा शिक्षाविद्का एवं मित्रराष्ट्र चीन, बेलायत, अष्ट्रिया, फ्रान्सलगायत देशका गरी २१० जना प्राध्यापक, वैज्ञानिक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

सम्मेलनमा १३० वटा कार्यपत्र प्रस्तुत भएको कार्यक्रमका संयोजक एवं त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. देवराज जोशीले बताए ।

कार्यपत्रमार्फत विश्वव्यापी तापमान कारक रसायन (ग्लोबल वार्मिङ ग्यास) उत्पादन न्यूनीकरण गर्न सूक्ष्मजीवको भूमिका अध्ययन तथा प्रयोग गर्न प्रोत्साहन गरिएको छ ।

यस्तै, एन्टिबायोटिक प्रतिरोध उच्च जोखिम रहेको भन्दै जीवाणु निर्मुल गर्ने वैकल्पिक विधि निर्धारण गर्ने बिषयमा पनि सम्मेलनमा छलफल भएको छ ।

यस्तै, दक्षिण एसिया क्षेत्रमा वातावरणीय माइक्रोबायोम र माइक्रोबायोटाको निर्धारण गर्ने, सुक्ष्म जीवसमूहको र तिनका इन्जाइमको उपयोगिताको उच्च सम्भावनामा काम गर्ने जस्ता निष्कर्ष सम्मेलनको छ ।

सम्मेलनमा सुक्ष्मजीवले मानव जीवन, मानव स्वास्थ्य, समाज, वातावरण र अन्य क्षेत्रमा पार्ने प्रभाव, त्यसको सदुपयोग तथा संक्रामक रोगका साथै उनीहरुले पार्ने नकारात्मक प्रभावको न्यूनीकरणका विषयमा विभिन्न सत्रमा छलफल भएको सहप्राध्यापक डा. जोशीले बताए ।

यी विषयमा वैज्ञानिकले आफ्ना अनुसन्धान, त्यसको निष्कर्ष र भावी योजनाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

यसबाहेक सम्मेलनमा दक्षिण एसियामा रहेको सुक्ष्म जैविक विविधताको गहन अध्ययन गर्ने र जलवायु परिवर्तनको जोखिमका बेला सुक्ष्मजीवमा रहेको जैविक शक्तिलाई उपयोग गरी उत्सर्जन न्यूनीकरण गर्ने विषयमा अनुसन्धान केन्द्रित गर्नेलगायतका छलफल भएको डा. जोशीले बताए ।