राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र- प्रदेश सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार फेरियो

67

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । २०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको हो ।

आयोगको आज बसेको बैठकले प्रदेशसभा सदस्यको मतभार ५३ कायम गरेको छ । यसअघि एकजना प्रदेशसभा सदस्यको मत ४८ मानिन्थ्यो ।

त्यस्तै मेयर-उपमेयर तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम भएको छ । यसअघि स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयलाई आयोगले गरेको पत्रचारपछि उसले उपलब्ध गराएको जनसांख्यिक विवरण अनुसार मतभार फेरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्नेगरी आयोगले सरकारलाई सुझाव दिएको छ ।