एउटा मान्छेको विरोधमै सीमित एमालेको प्रदर्शन

63

भक्तपुर । महँगी, बेथिति लगायत विरुद्ध भनेर नारा दिए पनि युवा संघको प्रदर्शनका मुख्य वक्तादेखि सहभागीसम्म सबै एक व्यक्ति विरुद्ध केन्द्रित देखिए।

पाँच दिनअघि मंसीर २ मा नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले मंसीर ७ को प्रदर्शन आफ्नो ‘पार्टीकै कार्यक्रम भएकाले सबै शक्ति लगाइने’ बताएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल सहभागी २३ संगठन आबद्ध संयन्त्रको विशेष भेलामा उनले कतिपयले भने जस्तो व्यक्तिको लडाइँ नभएको उल्लेख गरे।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय युवा संघलाई निर्धारण गरिदिएको तीनकुनेस्थित कार्यक्रमस्थलमा पुग्दा भने पाँच दिनअघि नेता ढकालले भने जस्तो अवस्था देखिएन।

भन्न त ‘भ्रष्टाचार, महँगी, अनियमितता, राज्यको अकर्मण्यता, अराजकता, माफियागिरी, सामाजिक सद्‌भाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधि विरुद्ध’ सरकारलाई खबरदारी गर्न आयोजना गरिएको प्रदर्शन भनिएको थियो। तर मंसीर ७ मा काठमाडौंको तीनकुनेमा आयोजित नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघको शक्ति प्रदर्शन अवलोकन गर्दा त्यो नारा ब्यानरमा मात्र सीमित देखियो।

युवा संघले तीनकुनेमा आयोजना गरेको कार्यक्रमका मुख्य वक्ता पूर्व मन्त्री एवं संघका पूर्व अध्यक्ष महेश बस्नेतको भाषण र सहभागीको धारणा सुन्दा प्रदर्शन पूर्णतः दुर्गा प्रसाईं विरुद्ध केन्द्रित रहेको बुझिन्थ्यो। बस्नेतले सिंगो भाषण प्रसाईं विरुद्ध नै लक्ष्यित गरे। कुनै व्यक्ति केन्द्रित कार्यक्रम नभएको दाबी गर्दागर्दै बस्नेतले भने, “दुर्गा प्रसाईं जस्ता अराजकहरू ज्ञानेन्द्रको फोटो छातीमा टाँसेर आएका छन्। हामीले खोकेको भरमा यी भाग्छन्।”

युवा संघको प्रदर्शनलाई सम्बोधन गर्दै महेश बस्नेत।
बस्नेतको मन्तव्य असंगतिहरूको संग्रह बन्न पुगेको थियो। आफ्नो कार्यक्रम प्रसाईं वा कसैसँग पनि भिड्न नभएको भनेको केही बेरमै उनी बोले, “हिजो यही अराजक तत्त्वले बालेन, हर्क, रविलाई उचाले। अब अहिले कोही पनि नभेटेर मानसिक सन्तुलन बिग्रिएको प्रसाईंलाई उचालेका छन्। यो कार्यक्रम समाजमा सकारात्मक ऊर्जा पुर्‍याउन, राज्यलाई बल पुर्‍याउन, सामाजिक सद्‌भावलाई स्थापना गर्नका लागि हो। यस्ता अराजकलाई ठाउँ दिन हुँदैन।”

‘प्रसाईं जस्ता व्यक्तिलाई स्थान दिनु हुँदैन’ भनेर जिकिर गरिरहँदा उनले तिनैको नाम बारम्बार दोहोर्‍याइरहेका थिए। मन्तव्य दिनुअघि बस्नेतले पत्रकारसँगको कुराकानीमा पनि  प्रसाईंप्रति रोष नै पोखे। उनले भने, “आजको आन्दोलनमा लालसलाम मात्र गरेका छौं। यो लालसलाम मुठी बनेर छातीमा हान्ने अवस्था आइसकेको छैन। आजबाट राजा ल्याउने उनीहरूको खेल सकिन्छ। अब यस्ता बौलाहाहरूले के भने भन्ने कुरा हुँदैन।”

एमाले पोलिटब्यूरो सदस्य बस्नेत मात्र होइन, कार्यक्रमका सहभागीको नारा पनि प्रसाईं केन्द्रित नै थियो। उनीहरू प्रसाईंको नाम लिएर मूर्दावादको नारा लगाइरहेका थिए। सँगसँगै उनीहरूले पूर्व राजालाई पनि आफ्नो विरोधको निशाना बनाएका थिए, गीत नै बनाएर-

‘चाउचाउ खानु मसला मिसार
केही हुँदैन … चोर रिसार।’

तिनैमध्येका एक थिए, भक्तपुर गुन्डुका रामकाजी बस्नेत। उमेरले ६० नाघिसकेका बस्नेतले आफूलाई एमालेको पुरानो कार्यकर्ताका रूपमा चिनाउँदै भने, “दुर्गा प्रसाईंले राजा ल्याउँछु भनेर गरिरहेको आन्दोलन स्वस्थानीमा भने जस्तो लावण्य देशको राजाको कुरा मात्र हो।”

अखिल नेपाल महिला संघ, भक्तपुरकी सदस्य भागीरथी दुलालले पनि प्रसाईंप्रति रोष पोखिन्। “दुर्गा प्रसाईं जस्ता व्यक्तिको भड्कावले भएका काम पनि बिग्रिनेछन्। यस्तो मान्छेलाई राज्यले तु कारबाही गर्नुपर्छ।”

रोचक त, प्रसाईं विरुद्ध रोष पोख्दापोख्दै पनि आन्दोलनका सहभागीको चासो भने बल्खुमा भइरहेको प्रदर्शनतिरै थियो। झुन्ड झुन्डमा बसेका प्रदर्शनकारीले पत्रकार देख्नासाथ सोधिहाल्थे, “दुर्गा प्रसाईंको कार्यक्रममा चाहिं कति मान्छे ल्याएछन् त? त्यहाँ त झडप शुरू गरेछन् हैन त?” हिमालखवरकाे सहयोगमा