राष्ट्रिय खाद्य बैंक द्वारा लोकन्थलीमा ‘रैथाने खाद्यान्न मार्ट’ सञ्चालन

60

काठमाण्डौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडद्वारा सञ्चालित एकमात्र रैथाने विविध खाद्यान्न स्टोर ‘आर.के.बि.मार्ट’ थप व्यवस्थित गरि मध्यपुर थिमि नगरपालिका वडा नं १ स्थित, आँखा अस्पताल नजिक दिव्यश्वरी प्लानिङ्ग लोकन्थली (लौहकिल्थली), भक्तपुरमा शुरु गरिएको छ ।
यसअघि जडिबुटी तरकारी बजार पारी झोलुंगे पुल नजिकै रहेको सो मार्ट आइतबारदेखि नयाँ व्यवस्थापनका साथ दिव्यश्वरी प्लानिङ्गको सार्वजनिक वाटिका (पार्क) अगाडि स्थापना गरिएको हो ।
सो मार्टमा देशभरी रैथाने प्रविधि, वीऊवीजन र प्रांगारिक मलको प्रयोग गरि खेती गरेर उत्पादित विशुद्ध प्रांगारिक र रैथाने खाद्यवस्तु मात्रै विक्री वितरण हुने सो बैंकका प्रवन्ध निर्देशक रामशरण देउजाले बताए । मार्ट हरेक दिन विहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

दैनिकरुपमा हरेक घरको भान्छामा प्रयोग हुने चामलदेखि दाल, गेडागुडी, तेल, घिउलगायत खाद्यान्न खाद्य बैंकले नेपालका विभिन्न ठाउँमा उत्पादनको साथै संकलन गरेर ल्याउने गरेको बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।
‘खाद्य बैंकले लोकन्थलीमा सञ्चालन गरेको मार्टमा विक्री गरिने खाद्यान्न शतप्रतिशत रैथाने र प्रांगारिक हुन्छ’—शुद्धताको ठोकुवा गर्दै कार्यकारी अध्यक्ष उप्रेतीले भने ।
विभिन्न विषादि र मल प्रयोग गरि उत्पादन गरि विक्री वितरण गरिएका खाद्यान्नबाट प्रायजसो उपभोक्तामा मुटु, क्यान्सर, मिर्गाैलालगायत रोगको संक्रमण बढ्न थालेपछि खाद्य बैंकले आम उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै विशुद्ध प्रांगारिक र रैथाले खाद्यान्नको उत्पादन र सरल बजारीकरणमा जोड दिँदै आएको प्रवन्ध निर्देशक देउजाले बताए ।

मार्टमा आउने ग्राहकको चाहना र माग बमोजिम बैंकले आगामी दिनमा राजधानीका अरु ठाउँमा पनि मार्टको शाखा विस्तार गरिने पनि उनले बताए ।