२६ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाद्धारा सहकारी सदस्यहरूलाई भूकम्पीय सुरक्षा सम्बन्धी अभिमुखीकरण

90
खरिपाटी ।
२६ औ भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाले वडास्तरिय विपद् व्यवस्थापन समितिको समन्वयमा स्थानीय सहकारीसँगको सहकार्यमा भूकम्पीय सुरक्षा सम्बन्धी १ दिने अभिमुखीकरण सञ्चालन सुरु गरेको छ । “स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ ।” भन्ने नाराकासाथ आज देशभर विविध गतिविधिहरू सञ्चालन गरी २६औँ भूकम्प सुरक्षा दिवस मनाइदैछ।
आज भूकम्प सुरक्षा दिवसको दिन चाँगुनारायण नगरपालिका वडा नं ९ को देवी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरूलाई देवी मा.बिमा तथा वडा नं ८ को महिला जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्यहरूलाई ठुली ब्रम्हायणी आधारभूत विद्यालयमा अभिमुखीकरण सञ्चालन गरिएको थियो ।
ताथलीमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा वडा सदस्य एवं कार्यपालिका सदस्य कमला गिरीले चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनको क्षेत्रमा प्रभावकारी गर्दै आएको बताउनुहुँदै आगामी वर्षको बजेटमा विपद् व्यवस्थापनको लागि थप बजेट तथा कार्यक्रम समावेश गर्न पहल गर्ने बताउनु भयो । अभिमुखीकरणमा चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनमा गरेका कार्यहरूको बारेमा जानकारी, भूकम्प र यसको कारण, भूकम्पीय सुरक्षाका उपायहरू, २०७२ साल तथा जाजरकोट भूकम्पले भएको क्षति तथा पारिवारिक र सामुदायिक रूपमा गर्नुपर्ने पूर्व तयारीका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।
अन्तरक्रियात्मक रूपमा सम्पन्न अभिमुखीकरणमा सहभागीहरूले भूकम्पीय सुरक्षाका लागि पूर्व तयारी योजना अनुरूप कार्य गर्नुपर्ने बताउनुभयो । सहकारीका सदस्यहरूले भवन संहिता बमोजिम संरचना निर्माण, प्राथमिक उपचार खोज तथा उद्धारका प्रशिक्षण सञ्चालन गरी समुदायमा प्रथम उद्धारकर्ता तयार, विपद् कोष स्थापना, आवश्यक उद्धार सामग्री व्यवस्थापन तथा समय समय विपद्को अवस्थामा गरिने प्रतिकार्यको अभ्यास गर्न सकेमा भूकम्प जस्तो विपद्बाट समुदाय सुरक्षित राख्न सकिने कुरा व्यक्त गर्नुभयो । उहाँहरूले सहकारीले पनि वडा तथा नगरपालिकासँग समन्वय र सहकार्य गरी विपद् जोखिम न्यूनीकरणका कार्यहरूमा हातेमालो गर्दै त्यसका लागि केही बजेट छुटाउनुपर्ने बताउनुभयो ।
माघ २ गते देखि ७ गतेसम्म सप्ताह रूपमा मनाइने २६ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाले नगरपालिका भित्रका वडागत रूपमा ९ वटा सहकारीहरूका सदस्यहरूलाई १ दिने भूकम्पीय सुरक्षा सम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन र विपद् जोखिम न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका विषयक कार्यशालाको पनि आयोजना गरिने चाँगुनारायण नगरपालिकाका योजना प्रमुख तथा विपद् सम्पर्क व्यक्ति अनुप लामिछानेले बताउनुभयो ।
चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन शाखाका विपद् विज्ञ तथा परामर्शदाता दिनेश थापा, सहजकर्ताहरू राजकुमार लम्साल र दिवाकर पौडेलले अभिमुखीकरण कार्यक्रममा सहजिकरण गर्नुभएको थियो ।