आत्मनिर्भर बन्न सिप उत्पादनसँग जोडिनुपर्छ : प्रजिअ श्रेष्ठ

136

भक्तपुर  । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले कुनै पनि सिप उत्पादनसँग जोडिनुपर्नेमा जोड दिएकी छन् ।
११४ औं अन्तर्राष्ट्रि«य महिला दिवसको अवसरमा बिहीबार भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको आर्थिक विकासमा महिला उद्यमीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ श्रेष्ठले महिलाहरु सिप सिकेर उद्यम व्यवसाय गरी उत्पादनसँग जोडिनुपर्ने बताएकी हुन् । ‘सिप उत्पादनसँग जोडिए मात्रै रोजगार वृद्धि भई आत्मनिर्भर बन्न सकिन्छ’, उनले भनिन् । सिपले महिलाहरुलाई जीविकोपार्जनमा आत्मनिर्भर बनाउनुका साथै राष्ट्रका कुनै पनि क्षेत्रको नेतृत्वकर्ता महिला बनाउन सक्षम बनाउने उनले बताइन् ।
प्रजिअ श्रेष्ठले जोखिम कम हुने क्षेत्र पहिचान गरी लगानी गर्न महिला उद्यमीहरुलाई आग्रह गरिन् । उनले आफूलाई ज्ञान भएको तथा आफूसँग भएको सिपअनुसारको व्यवसायमा लगानी गरेमा मात्रै लगानी सुरक्षित हुने भन्दै महिला उद्यमशीलता विकास हुने तालिमहरु पनि लिँदै जानुपर्नेमा जोड दिइन् । सिप र तालिमबिना सञ्चालित व्यवसाय दीर्घकालीन नहुने भएकाले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी सक्षम भएर अगाडि बढ्न उनले आग्रह गरिन् ।
उनले पहिलेको तुलनामा अहिले राज्यका आर्थिक, सामाजिक, राजनीतिकलगायत हरेक क्षेत्रमा महिलाहरुको योगदान बढ्दै गएको भए पनि महिलाहरुको कामको सम्मान र सही मूल्यांकन हुन नसकेको बताइन् । महिलाहरुलाई बोक्सीको आरोपमा यातना दिने, दाइजो प्रथा, छाउपडी प्रथाको अन्त्य अझै हुन नसकेको भन्दै महिलाहरु माथि हुने कुनै पनि किसिमका अन्याय हुन नदिन महिलाहरु एकजुट हुनुपर्ने बताइन् ।
संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले महिलाहरुले आवाज बुलन्द गरेकै कारण पहिलाको तुलनामा धेरै अधिकार पाउन सकेको धारणा राखिन् । उनले भक्तपुर उद्योग वाणिज्य संघले महिला सशक्तीकरण, उद्यमशीलता वृद्धि, सीप विकास, नेतृत्व क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने बताइन् । जिल्लाका महिलाहरुलाई उद्यमी बनाउन स्थानीय तह, प्रदेश, संघीय सरकारसँगै विभिन्न सरकारी नियकासँग सहकार्य गरी महिलाहरुलाई आवश्यक तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै जाने उनले जानकारी दिइन् ।
कार्यक्रममा भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी प्रमुख मेरिना चित्रकार, समाजसेवी कृष्णेश्वरी हाडा, शिक्षा विकास तथा समन्वय एकाईकी इकाई प्रमुख कमला ज्ञवाली, संघका उपाध्यक्ष गणेशहरि प्रजापतिलगायतले आआफ्नो धारणा राखेका थिए ।
सो अवसरमा संघले जिल्लाका दुईजना महिलालाई सम्मान गरेको छ । प्रजिअ श्रेष्ठले महिला स्वरोजगारका लागि प्रेरक व्यक्तिको रुपमा रमालक्ष्मी प्रजापतिलाई सम्मान पत्रसहित खादा ओढाएर र महिला उद्यमी चेतकुमारी चित्रकारलाई दोसल्ला ओढाएर सम्मानित गरेका हुन् ।