काभ्रे । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित बुद्धचित्त मालाको रुख काटेको घटनाको जिम्मा नेकपा (माओवादी)ले लिएको छ । माओवादीका महासचिव महावीर विज्ञप्ति जारी गरेर उक्त रुखका कारण स्थानीय जनतामाथि राज्य र दलाल तथा तस्करले पटकपटक दुःख दिने गरेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ”चैत्र २९ गते ११ः०० बजे काभ्रेको रोशी गाउँपालिका ५ सीसाखानीका उत्पीडित समुदायमाथि सदियौंंदेखि दलाल सत्ताको राज्य प्रशासनको आडमा तस्करहरु र दलाल राजनीतिक दलको नेतृत्व र त्यसका गुण्डाहरुको कारण बुद्धिचित्त मालाका रुपमा प्रयोग गरिने रुखको कारण त्यहाँका जनतालाई पटकपटक राज्यद्वारा दुःख दिने र झुटा मुद्दा लगाई उत्पीडनमा पार्दै आएका छन् । त्यही रुखका कारण कयौं सर्वसाधारण अहिले झुटा मुद्दा लगाएका र कारागारमा बस्न बाध्य पारिएका छन् ।”
उत्पीडित र सर्वसाधारण जनताको माग बमोजिम बुद्धचित्त मालाको रुख आफ्नो पार्टीको नेतृत्वमा काटिएको महासचिव महावीरले गराएका छन् । उनले दलाल राज्य प्रशासनले जनताको पार्टी र जनताको सेना र सत्ता निर्माण भइसकेको हुँदा जनतालाई दमन र धरपकड गर्न कोशिस गरेमा पार्टीले जस्तोसुकै प्रतिरोध गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
स्थानीय शेरबहादुर तामाङको बारीको उक्त रुख बार्षिक ३ करोड रुपैयाँमा सम्झौता भएको थियो ।
यो क्षेत्रमा बुद्धचित्तको माला व्यपारी र तस्करबीच लामो समयदेखि विवाद हुँदै आएको थियो । व्यपारी र तस्करका कारण गाउँमा अशान्ति फैलिँदै आएको थियो ।