नेपालका आठजना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’

18

बलराम प्यासी
ललितपुर ।
नेपालमा बिरामीमा हिप प्रत्यारोपण गरिएको खबर मात्रै सर्वसाधारणले सुनेका छन् । तर सडक दुर्घटना या क्यान्सर लागेको हाडजोर्नी काटेर फ्याँकेको ठाउँमा कृतिम हाडजोर्नीप्रत्यारोपण गरि जस्ताको तस्तै बनाएको खबर भने धेरैलाई थाहा छैन ।
नेपालका विभिन्न अस्पतालमा कार्यरत युवा पुस्ताका ८ जना क्यान्सर विशेषज्ञ एवम्हाडजोर्नी शल्य चिकित्सकले २०८१ जेठ १७ गतेसम्म एकसयजनाको हात गोडामा सफलतापूर्वक कृतिम हाडजोर्नी प्रत्यारोपण(इन्डोप्रोस्थेसिस) गरेको तथ्य शुक्रबार सार्वजनिक गरेका छन् ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा ती ८ जना शल्य चिकित्सकहरुले १०० जनामा हाडजोर्नी सफलतापूर्वक प्रत्यारोपण गरिएको सफलताको कथा तस्वीर र भिडियो मार्फत सार्वजनिक गरेका हुन् ।
ती एकसयवटा हाडजोर्नी प्रत्यारोपणमध्येराष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा ३०,नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा २०, किस्ट अस्पताल ललितपुरमा १७,भक्तपुर क्यान्सर अस्पताल भक्तपुरमा ७, त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा ५,पाटन अस्पताल, ललितपुरमा ११, सैनिक अस्पताल छाउनीमा ६ र बयलपाटा अस्पताल अछाममा ४ जनाको भएको पनि उनीहरुले बताए ।


शरीरको विभिन्न भागमा फैलिएको क्यान्सरको कारण या विभिन्न दुर्घटनामा परि हातगोडा काटेर फ्याक्नुपरेमा सो ठाउँमा नयाँ हाडजोर्नी प्रत्यारोपण गर्न सकिने पनि ती हाडजोर्नी शल्य चिकित्सकहरुले बताएका छन् । र, नेपालमा यस प्रकारको प्रत्यारोपण शतप्रतिशत सफल भएको पनि उनीहरुले बताए ।
नेपालका विभिन्न सरकारी र नीजि अस्पतालमा कार्यरत रहेका ति आठजना विशेषज्ञ शल्यचिकित्सकहरुको सामाजिक संस्था‘टिम सार्क नेपाल’ लगायतका अस्पतालहरुको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा सो संस्थामा आवद्ध हाडजोर्नी तथा क्यान्सर शल्यचिकित्सकहरुले हाडजोर्नी प्रत्यारोपणको सफलताको कथा सुनाएका थिए ।
भारतका केही शहरमा त्यँहाको सरकारले कृतिम हाडजोर्नी प्रत्यारोपण कार्य निःशुल्क गर्दै आएको बताउँदै क्यान्सरको कारण हात गोडाका हाडजोर्नी काटेर फ्याँकेको ठाउँमा नयाँ हाडजोर्नी प्रत्यारोपण गर्न नेपाल सरकारले विरामीहरुलाई १ लाख रुपैयाँ अनुदानलाई वृद्धि गरि १० लाख पुर्याउनुपर्ने ती शल्य चिकित्सकको माग थियो ।
टिम सार्क नेपालका ८ जना वरिष्ठ सर्जनहरुमध्ये डा.ऋषिराम पौडेल, (पाटन अस्पताल÷नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ),डा.जनिथ सिंह (नेपाल क्यान्सर अस्पताल÷राष्ट्रिय ट्रमा सेन्टर), डा.बसन्त महर्जन (नेपाल क्यान्सर अस्पताल÷किस्ट अस्पताल), डा.विनायक ढुंगेल (भक्तपुर क्यान्सर अस्पताल), डा.दिपेन्द्र महर्जन (सैनिक अस्पताल), डा.प्रसन्न दिप कार्की तथा डा.कृष्ण जंग कार्की (राष्ट्रिय ट्रमा सेन्टर) र डा.मन्दिप पाठक (बयलपाटा अस्पताल अछाम) छन ।
कार्यक्रममा नेपालमा तीन दशक अघिदेखि हाडजोर्नी प्रत्यरोपण गर्दै आएका अग्रज वरिष्ठ शल्य चिकित्सक राष्ट्रिय ट्रमा सेन्टरका पुर्व निर्देशक प्रा.डा.अशोक रत्न बज्राचार्यले पछिल्लो समय युवा हाडजोर्नी शल्य चिकित्सकहरुले हाडजोर्नीसम्वन्धि जटिल भन्दा जटिल शल्यक्रिया गर्न र हाडजोर्नी प्रत्यारोपण गर्न सफल भएकोमा बधाई दिनुभयो ।
नेपालका युवा शल्य चिकित्सकहरु हाडजोर्नी प्रत्यरोपण गर्न सक्षम रहेको उल्लेख गर्दै उहाँले सरकारले उनीहरुलाई प्रोत्साहन गर्न सरकारसंग आग्रह गर्नुभयो । नेपालमा हाडजोर्नी प्रत्यारोपणको लागि अब कुनैपनि विरामीले विदेशका अस्पतालमा महंगो खर्च गरि उपचार गर्नको लागि जान नपर्ने पनि उहाँँको कथन थियो ।