चरम लापरबाहीले बिरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाव, आफन्तजन भन्छन् ‘यस्तो हस्पिटल बन्द होस्’

27

काठमाडौँ । ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालमा २७ वर्षीय पत्थरीको बिमारीको अप्रेसनको क्रममा मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । पाल्पा घर भएकी खुसी मगरको पित्त थैलीको अप्रेसनमा चरम लापरबाही भएर मृत्यु भएको उनका आफन्तजनहरूले बताएका छन् ।

हस्पिटलमा २१ गते अप्रेसनका लागि भर्ना भएकी मगरको पित्त थैलीको सामान्य अप्रेसनमा पनि अस्पतालले ठुलो लापरवाह गरेको आफन्तहरूको भनाइ छ । मगरको मृत्यु भएपछि हस्पिटलमा ठुलो सङ्ख्यामा उनका आफन्त तथा छिमेकीहरू भेला भएका छन् । बिरामीको मृत्यु केही दिन अघि नै भए पनि झडप हुने आशङ्कामा हस्पिटलले ठुलो मात्रामा प्रहरी तथा बाउन्सर प्रयोग गरेको त्यहाँ रहेका बिरामीका आफन्तहरूले बताएका छन् ।

सिकारु डाक्टरहरूले चरम लापरबाहीपुर्वक बिरामीको अप्रेसन गर्दा विभिन्न नशाहरू काटिएर बिरामीको मृत्यु भएको हुनसक्ने आफन्तहरूले बताए । यद्यपि के कारणले बिरामीको मृत्यु भएको भन्नेबारे अस्पताल प्रशासनले बताउन नचाहेको त्यहाँ उपस्थितहरूले बताए । हस्पिटलले बिरामीको आफन्तहरूसँग पनि कुनै खालको वार्तालाप गर्न नचाहेको, बरु प्रहरी प्रशासनको बलमा घटना सामसुम पार्न खोजेको बताएका छन् ।

पहिल्यै देखि सोही हस्पिटलमा चेकजाँच गर्दै आएकी मगरले गत वर्ष जाँच गराउँदा ७ एमएमको पत्थरी छ, चाँडै अप्रेसन गर्दा पछि समस्या हुन्न भनेर बिरामीमा परामर्श गरेको उनको आफन्तले बताए । सोही पत्थरीको अप्रेसन गर्दा लापरबाहीको कारण बिरामीको मृत्यु भएको, अप्रेसनको क्रममा ७–८ लाख बढी विल निकालेको, करिब ४० पाउन्ड रगत खोज्न लगाएको र ४ दिन भेन्टिलेटरमा राखेर अन्त्यमा बिरामी नरहेको हस्पिटलले बताएको उनका आफन्त बताउँछन् ।

बेला बेला यस्तै खालका घट्नाहरु घट्दै आएको सो हस्पिटलले माफी माग्नु पर्नेमा उल्टै शक्ति प्रयोग गरेर धरपकड गर्न थालेपछि मृतकका आफन्तजनहरू भड्किएका छन् । उनीहरूले यस्तो अस्पताल मध्ये राजधानीमा सञ्चालनमा रहनु नै विडम्बना भएको र अस्पताल बन्द नै गरिनु पर्ने माग राखेका छन् ।