भक्तपुर विकास सहयोग संघले पाँच व्यक्तित्वहरूलाई सम्मान

37

ललितपुर । भक्तपुर विकास सहयोग संघले पाँच व्यक्तित्वहरूलाई सम्मान गरेको छ । शनिबार सम्पन्न संघको ३० औं वार्षिक साधारणसभाका अवसरमा देशको विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका पाँच व्यक्तित्वहरूलाई सम्मानित गरेको हो ।

सभामा उनीहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानपत्र प्रदान गरिन् । सम्मानित व्यक्तिहरूमा संस्कृतिविद् डा. जगमान गुरूङ, वरिष्ठ सीमाविद् वुद्विनारायण श्रेष्ठ, संस्कृति शिरोमणि हरिराम जोशी, संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्ग, गायक योगेश्वर अमात्य रहेका छन् ।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संघद्वारा प्रकाशित ‘खोपृङ’ अङ्क २६(स्मारिका) विमोचन गरेकी थिइन् भने पत्रिकामा लेख प्रकाशनका लागि दिएका लेखकहरूलाई कदर पत्र प्रदान गरिन् । सो अवसरमा उनले ऐतिहासिक र पुरातात्त्विक महत्त्वको भक्तपुरको समग्र विकासका लागि गठन भएको संघले गरेको प्रयासको कदर गरे । उनले जिवित संग्राहलयका रूपमा रहेको भक्तपुरका कला संस्कृति देशकै सम्पत्ति भएकाले सबैको साथ र सहयोगमा संरक्षण र सम्वर्द्वन जरुरी रहेको उल्लेख गरिन् ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राजाराम जोशीले सङ्घ स्थापनाको पृष्ठभूमिबारे जानकारी गराए । सो अवसरमा संघद्वारा प्रदान गर्दै आइरहेको शैक्षिक छात्रवृत्ति सहयोग अन्तरगत संजिव मोक्तान, युनिका तामाङ, निरूसा पौडेल, सरस्वती मावि थाकलमाथका अस्मिता माझी, बिमला तामाङ र चितवनका दृिष्टविहीन जेशन चौधरी, झरना चेपाङलाई आर्थिक सहयोग गरिएको थियो । यस्तै शैक्षिक सहयोग अन्तरगत अंशुदिल प्रजापति, इना लामा, स्वयम् लामालाई पनि शैक्षिक सहयोग गरिएको थियो ।

कार्यक्रममा वागमती प्रदेशका पूर्व सँँस्कृति पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले संङ्घको भवन निर्माणका लागि आफू प्रतिवद्दता जनाए । सङ्घका अध्यक्ष राजुमृगेन्द्र जोशीले संघको विकासका लागि सबैसँग सहकार्य गरिने जनाए भने संघका सुदिप हाडाले संघ स्थापनाकालदेखि भक्तपुरको शिक्षा, स्वास्थ्य, इतिहास, कला संस्कृति र सामाजिक कार्यमा सक्रियतापूर्वक लागिरहेको बताए ।

संघका प्रथम उपाध्यक्ष धर्मभक्त बल्लले सम्पूर्णमा स्वागत गर्दै भक्तपुरको समग्र विकासका लागि सङ्घको परिकल्पना गरि सहयोग गरिएको बताए । उनले भक्तपुरको इतिहास, पुरातत्त्व, शिक्षा, स्वास्थ्यको सुधारका लागि सङ्घले सहयोग गरेको जानकारी दिए । कार्यक्रम संघका सल्लाहकार एवम् विश्लेषक भरत जंगमको सभापतित्वमा भएको थियो ।