खानेपानी समस्या समाधान गर्न ताते ताथलीका जनप्रतिनीधि

2405

हरिसुन्दर छुकां / भक्तपुर २० जेठ । स्थानीय तहको निर्वाचनबाट भक्तपुरको चाँगुनारायण नपा वडा नं. ९ ताथलीबाट विजयी भएका जनप्रतिनीधिहरु खानेपानी समस्या समाधान गर्न लागेका छन् ।
वडाध्यक्षमा गणेश त्यात, वडासदस्यहरुमा कमला गिरी, सुमित्रा दर्जी, कृष्णराम बासुकला र विद्यापति थापाले गत बिहीबार पदबहाली गरेसँगै खानेपानी समस्या समाधानका लागि ठोस पहल गर्ने निर्णयअनुसार शनिबार ती पदाधिकारीहरुले ताथलीका विभिन्न खानेपानीका मूलहरुको स्थलगत अवलोकन गरी उपभोक्तासँग अन्तरक्रिया गरेका छन् ।
ताथलीमा सञ्चालनमा रहेको ताथली वृहत खानेपानी आयोजना, सोया खानेपानी योजना, गोठालेचौरस्थित खानेपानी योजना, खगां खानेपानी योजना, नालाछाप खानेपानी योजना, विन्ध्यवासिनी खानेपानी योजनालगायतका प्रतिनीधिहरुको सहभागितामा भएको स्थलगत अवलोकनको क्रममा जननिर्वाचित पदाधिकारीहरुले ताथली वृहत खानेपानी आयोजनाको खानेपानी ट्यांकीदेखि लिएर मुहानसम्मको स्थितिबारेमा जानकारी लिएका थिए ।
विभिन्न उपभोक्ता समितिका पदाधिकारीहरु, स्थानीय उपभोक्ताहरु तथा विभिन्न संघसंस्था र राजनीतिक दल आवद्ध व्यक्तिहरुको टोली सहभागी सो स्थलगत अवलोकनका क्रममा उनीहरुले ताथलीको झरना मूल, बासुकी मूल, बुलबुले मूल र हाँडिबेल मूल, आइतबारे जंगलको मूलमा पुगेर खानेपानी समस्याका बारेमा जानकारी लिएको हलाल गाउँका स्थानीय बाबुराम थापाले बताए ।
सो क्रममा वडाध्यक्ष गणेश त्यातले ताथलीमा विकासको कामसँगै दैनिक जनजीविका सञ्चालनका लागि आवश्यक पर्ने खानेपानीको समस्या समाधान गर्ने काममा आफू प्रतिवद्ध भएको बताउँदै ताथलीवासीलाई खानेपानीको सहज तरिकाले उपलब्ध गराउन खानेपानीका स्रोतहरुको अवस्थाबारेमा बुझ्न स्थलगत अध्ययन गरेको बताए । ‘ताथलीमा पनि खानेपानीका थुप्रै स्रोत छन्, ती स्रोतहरुलाई अझ व्यवस्थित गर्नुपर्ने देखिएको छ । यहाँ भएका स्रोतको सदुपयोग गरेर खानेपानी समस्या हल गर्न कठिन छैन ।’ उनले भने ।
जननिर्वाचित पदाधिकारीहरु निर्वाचित भएलगत्तै खानेपानीको स्थालगत अध्ययनमा आएपछि स्थानीय उपभोक्ताले आफूहरु खुसी भएको प्रतिक्रिया दिएका थिए । ‘जनप्रतिनीधिहरुले खानेपानी समस्या समाधान गर्न के कसो गर्न सकिन्छ भनेर भ्रमण गर्नुभएको छ, हामीले हाम्रा समस्या बताउन पाएका छौं ।’ स्थानीय टीकाबहादुर थापाले भने ।