चाँगुनारायण नगरपालिकाद्धारा एकल तथा असहाय ज्येष्ठ नागरिकहरुलाइ बुबाको मुख हेर्ने दिनका अवसरमा फलफुल लगायतका स्वास्थ्य सामग्री वितरण

62

खरिपाटी, भक्तपुर
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको साझेदारीमा संचालित सहारा परियोजनाको सहयोगमा वडा तथा ज्येष्ठ नागरिक मिलन चौतारीको समन्वयमा कुशे औंसी एवं बुबाको मुख हेर्ने दिनको अवसरमा एकल तथा असहाय ज्येष्ठ नागरिकहरुलाई फलफुल सहितको सामग्रीहरु वितरण गरिएको छ ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख श्री जीवन खत्रीले नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति श्री परशुराम पाण्डेलाई एक कार्यक्रमका बीच फलफुल सहितको स्वास्थ्य सामग्रीहरुको झोला घरदैलो गएर वितरण गर्नको लागि हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाई लगायत परियोजनाका कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।


फलफुल सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुदै नगर प्रमुख श्री जीवन खत्रीले यस वर्षबाट शुरु भएको यस प्रकारको गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले नगरबासी ज्येष्ठ नागरिकको मुहारमा खुशी ल्याउनको लागि नगरपालिकाले रेडक्रससंगको साझेदारीमा स्वस्थ्य बुढ्यौली कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो । स्वस्थ्य, सक्रिय, मर्यादित र सुरक्षित जीवन यापन गर्न पाउनु ज्येष्ठ नागरिकको अधिकार रहेकोले यस तर्फ नगरपालिका सदैव सचेत र दृढ रहेको नगर प्रमुख खत्रीले बताउनुभयो ।
भक्तपुर रेडक्रसका सभापति श्री परशुराम पाण्डेले वडास्तरमा गठित ज्येष्ठ नागरिक मिलन चौतरीसंगको समन्वय तथा वडाको सहकार्यमा कुशे औसी एवं बुबाको मुख हेर्ने दिन परियोजना अन्तर्गत दिवस मनाउन पाँउदा खुशी व्यक्त गर्नुभयो । उहाँले नगरपालिकासंगको सहकार्यमा समुदायमा कार्य गर्न रेडक्रस सदैव अग्रसर रहेको बताउनुभयो ।
वडा नं १,२,३,६,७,८ र ९ का ५५ एकल तथा असहाय ज्येष्ठ नागरिकहरुलाई वडाका अध्यक्ष तथा सदस्यहरु, भक्तपुर रेडक्रसका पदाधिकारी तथा सदस्यहरु, ज्येष्ठ नागरिक मिलन चौतारीका प्रतिनिधि र सहारा परियोजनाका कर्मचारी तथा रेडक्रसका स्थानीय स्वयंसेवकहरुले घरदैलोमा गई सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

उहाँहरुले सामग्री सहित नगर प्रमुख तथा रेडक्रसका सभापतिको तर्फबाट सुस्वास्थ्य तथा दिर्घायुको कामना उल्लेखित शुभकामना कार्ड दिनुहुदै चाँगुनारायण नगरपालिका ज्येष्ठ नागरिकहरुको सुखदुःखमा सदैब साथ रहने कुरा पनि बताउनुभएको थियो । सामग्रीको झोलामा फलफुल, विस्कुट, किटनाशक झुल तथा मास्क राखिएको थियो । वडा तथा ज्येष्ठ नागरिक मिलन चौतारीसंगको सहकार्य र समन्वयमा सुचीकरण गरिएका ज्येष्ठ नागरिकहरुलाई फलफुल सहितको सामग्रीहरु वितरण गरिएको थियो ।