सूर्यविनायक नगर अस्पतालले एचडियु सेवा सञ्चालन गर्ने

36

भक्तपुर । सूर्यविनायक नगर अस्पतालले मंसिर महिना भित्रमा नै एचडियु सेवा सञ्चालन गरी सेवालाई विस्तार गर्ने भएको छ । बिहीबार नगरपालिकाबाट निर्माण गरिएको भवनको स्थलगत निरीक्षण गर्दै पूर्वमन्त्री महेश बस्नेत, बागमती सरकारका स्वास्थ्य मन्त्री किरण थापा, नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजा, नगर प्रमुख बासुदेव थापा, नगरपालिका प्रवक्ता रबिन्द्र सापकोटा लगायतको टोलीले स्थलगत निरीक्षण गरिएको छ ।

उक्त टिमले अस्पतालको भौतिक अवस्थाको निरिक्षण गरेसँगै मंसिर महिना भित्रबाटै अस्पतालले एचडियु सहितको सेवा विस्तार गर्न लागिएको हो । सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले मंसिर महिना भित्रबाट सेवा विस्तार गर्न सरोकारवालबीच गृहकार्य भएको बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाले आफ्नै लगानी तथा आफ्नै व्यवस्थापनमा करिब चार वर्ष अघि नगर अस्पताल सञ्चालन गरी स्वास्थ्य सेवा सञ्चालन गर्दै थियो । सरकारले गाउँपालिकामा ५ बेड र नगरपालिकमामा दश बेडको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था गरेसँगै सूर्यविनायक नगरपालिकाले आफ्नै नगर अस्पताल निर्माण गरेको हो ।

त्यस्तै नगरपालिकाले सबै वडामा ल्याबसहितको आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा प्रदान गरिएको, नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी स्वास्थ्य बीमामा लाग्ने रकमको प्रतिघर १००० रुपियाँ अनुदान दिने कार्यक्रम सञ्चालन ल्याइएको यस कार्यक्रममार्फत हालसम्म १५,००० भन्दा बढी परिवारको स्वास्थ्य बीमा गरिसकेका छन् ।