कोन्ज्योसोम गाउँपालिकाद्धारा क्षमता विकास तालिम भव्यरुपमा सञ्चालन

26

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले पंजिकरण व्यवस्थापन, राष्ट्रिय परिचयपत्र र सामाजिक सुरक्षा सम्बन्धी क्षमता विकास तालिम सुरु गरेको छ । बुधबार गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
तालिम बुधबार बिहीबार र शुक्रबारसम्म गरी तीन दिनसम्म सञ्चालन हुनेछ । गाउँपालिकाले वडाध्यक्ष र वडा सचिवलाई लक्षित गरी पंजिकरण व्यवस्थापन, राष्ट्रिय परिचयपत्र र सामाजिक सुरक्षा सम्बन्धी क्षमता विकास तालिम सुरु गरेको कोन्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।
गाउँपालिकाको सेवा प्रवाहलाई नागरिक मैत्री, प्रविधिमैत्री र सुशासनयुक्त बनाउने उद्देश्यले गाउँपालिकाले नेपाल सरकारका पूर्वसचिव समेत रहनु भएका प्रमुख निर्वाचन आयुक्त थपलियाको प्रमुख आथित्यतामा क्षमता विकास सम्बन्धी तालिम सञ्चालन गरेको हो ।
अहिले पनि पञ्जिकरण सम्बन्धित सेवा प्रवाह गर्ने क्रममा कतिपय दुविधाहरु रहेकोले उक्त दुविधाहरुलाई हटाउँदै कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास गर्ने गरी गाउँपालिकाले तालिम आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय सरकार संघीयताको जग भएको भन्दै स्थानीय तहले प्रभावकारी सेवा प्रवाह गर्दा नै संघीयता प्रभावकारी कार्यान्वयन भएको महशुस आमनागरिकलाई हुने बताउनुभयो । स्थानीय सरकारलाई सेवा प्रवाह र विकास निर्माणको केन्द्रको रुपमा स्थापित गराउँदा मात्र नागरिकले स्थानीय सरकारको महशुस गर्न सक्ने थपलियाले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णमान लामाले कोन्ज्योसोम गाउँपालिकाले नीतिगत र व्यवहारिक रुपमा नागरिकमैत्री सेवा प्रदान गर्दै आएको बताउनुभयो । सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरे, ललितपुरका जिल्ला समन्वय अधिकारी दिनेशप्रसाद थानी, वडाध्यक्ष, वडा सचिव शाखाका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यक्रम कोन्ज्योसोम गाउँपालिकाको आयोजना र सहआयोजक खाँदबारी सेवा समाज काठमाडौँले गरेको थियो ।