पीएल सिंहको निधनमा तीन दिन पार्टी झन्डा झुकाउने

6

काठमाडौँ । नेपाली कांग्रेसले पीएल सिंहको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टी झन्डा झुकाउने भएको छ। सिंहको निधन लगत्तै सोमबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक मनाउने निर्णयसमेत गरेको छ ।

जस अनुसार पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय कांग्रेसको छ । त्यस्तै, पुस २ गते मंगलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्नेसमेत कांग्रेसले निर्णयमा उल्लेख गरेको छ ।

सिंहको निधनको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने  र १३औं दिनमा सम्बन्धित जिल्ला, काठमाडौंमा शोक सभाको आयोजना गर्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ८८ वर्षीय सिंहको काठमाडौंको चाक्सीबारीमा गएराति १ः०० बजे निधन भएको थियो ।

यस्तो छ निर्णय-
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८१ पौष १ मा बसेको आकस्मिक बैठकद्वारा पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं काठमाडौं नगरपालिका पूर्व नगर प्रमुख प्रेमलाल (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित
शोक प्रस्ताव र निर्णय

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, जनसंख्या तथा वातावरण पूर्व मन्त्री तथा काठमाडौं नगरपालिकाका पूर्व नगर प्रमुख ८८ वर्षीय प्रेमलाल (पीएल) सिंहको काठमाडौंको चाक्सीबारीमा गए राति १ः०० बजे भएको निधनले नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको छ । स्वर्गीय सिंह लामो समयदेखि सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको सन्निकटमा रहेर कार्य गर्नु भएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा संलग्न रहँदा उहाँले पटक–पटक जेल जीवन व्यतित गर्नुका साथै भारतमा निर्वासित जीवन समेत व्यतित गर्नु भएको थियो । प्रजातन्त्र पुनस्र्थापनापछिको २०४९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उहाँ काठमाडौं नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित हुनु भएको थियो । स्वर्गीय सिंहकै पहलमा वि.सं. २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । त्यसैगरी वि.सं. २०५६ मा उहाँ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य हुनु भएको थियो ।

स्वर्गीय सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ ।

नेता प्रेमलाल (पीएल) सिंहको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

स्वर्गीय सिंहप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ—
(क) २०८१ पौष १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने ।
(ख) २०८१ पौष २ गते मंगलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने ।
(ग) स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने ।
(घ) स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंमा शोक सभाको आयोजना
गर्ने ।