काठमाडौं । मुद्दा जिताइदिन्छु भन्दै न्याय सेवाका एक कर्मचारीले १० लाख ठगेको भन्दै एक महिलाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह रावतसमक्ष निवेदन दिएकी छन् । सुशीला निरौला नाम गरेकी महिलाले आफ्नो ठगिएको रकम असुल उपर गरिदिन माग गर्दै प्रधानन्यायाधीश समक्ष निवेदन दिएकी हुन् ।
ती महिलाले न्याय सेवामा कार्यरत पुष्कर थापा नामका कर्मचारीले आफूसँग १० लाख लिएर ठगेको दाबी गरेकी छन् । उनले दिएको निवेदनअनुसार यो प्रकरण ११ वर्षअघिको हो । उनले आफ्ना पति नारदप्रसाद गौतम समेतको विरुद्धमा सर्वोच्च अदालतमा चलिरहेको मुद्दा थापाले जिताइदिन्छु भन्दै आफूसँग १० लाख लिएको दाबी गरेकी छन् ।
थापाले आफूसँग मागेको रकम २०७० साल असार ३० गते चार पटक गरी आइएमई मार्फत दिएको दाबी गरेकी छन् । जसमा उनले रकम पठाएको आइएमई नम्बर समेत निवेदनमा राखेकी छन् । पैसा लिँदा थापाले ‘मुद्दा जिताइदिन्छु, हारे फिर्ता दिन्छु’ भनेको तर, मुद्दा हारेपछि पनि सम्पर्कमा नआएको सुशीलाले पत्रमा लेखेकी छन् ।
सुशीलाको निवेदनअनुसार उनका पतिको निधन समेत भइसकेको छ । उनले प्रधानन्यायाधीशसँगै उक्त निवेदन सर्वोच्चका मुख्य रजिस्टार र रजिस्टारलाई पनि दिएकी छन् ।
यस्तै कर्मचारीका संगसंगठनलाई समेत बोधार्थ दिएकी छन् ।
नागरिक न्यूज अनलाइनको सहयोगमा