अमेरिकी डलर देखाई ठगी गर्ने मिजार भक्तपुरको सल्लाघारीबाट पक्राउ 

82

भक्तपुर ।  अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–११ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने ४७ वर्षीय सुजित मिजारलाई पक्राउ गरेको छ ।

मिजारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, भक्तपुर शाखा र पिसीसीबी थिमिबाट खटिएको प्रहरी टोलीले भक्तपुरको सल्लाघारीबाट बिहीबार पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट वारदातमा प्रयोग भएको माईक्रोम्याक्स कम्पनीको मोबाइल, चाँदीको ब्रासलेट एउटा र चाँदीको औँठी दुई वटा बरामद भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक ९एसपी० काजी कुमार आचार्यले जानकारी दिनुभयो ।

मिजारले गत पुस ३ गते मध्यपुर थिमि नगरपालिका–४ स्थित मध्यपुर अस्पताल नजिक हनुमन्ते खोला छेउको एकान्तमा काठमाडौँ महानगरपालिका वडा नं। ९ धुम्बाराही बस्ने ५५ वर्षीय हरि कृष्ण बराललाई अमेरिकी डलर देखाई ५ लाख रुपैंया ठगी गरी फरार भएको एसपी आचार्यले बताउनुभयो ।

“मिजारले फोन सम्पर्क गरी बराललाई मध्यपुर अस्पताल नजिक हनुमन्ते खोलाको छेउ एकान्त ठाउँमा बोलाई योजनाबद्ध तरिकाले रातो रुमालले बेरेको अवस्थामा रहेको पैसाको आकारमा काटिएको कागजको बिटो देखाई नेपाली रुपैंया ५ लाख ठगी गरी फरार भएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो,” एसपी आचार्यले भन्नुभयो ।

मिजारलाई प्रहरी वृत्त थिमि ल्याई थप कारबाही र अनुसन्धान भइरहेको एसपी आचार्यले बताउनुभयो ।