‘गिरिजाबाबु जीवित भएको भए अहिले दुईदलीय सरकार कांग्रेसको नेतृत्वमा हुन्थ्यो’

27

भक्तपुर ।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्व. गिरिजाप्रसाद कोइराला भएको भए अहिले नेपाली कांग्रेसको नेतृत्वमा दुई दलीय सरकार हुने काल्पनिक दाबी गरेका छन् । सरकारबाहिर रहेका दलहरुलाई समेत समेट्न क्षमता कोइरालामा रहेको उनले बताए ।

‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ शीर्षकको अन्तरक्रियामा बोल्दै उनले एमालेले सरकारको नेतृत्व गरेकोप्रति घुमाउरो आलोचना गरेका हुन् ।

कोइरालाले भने, ‘वर्तमान राजनीतिमा यदि गिरिजाबाबु भएको भए सरकार दुई दलको बनाउनुहुन्थ्यो । त्यो नेपाली कांग्रेसको नेतृत्वमा बन्थ्यो । उहाँको नेचर त्यस्तो थियो । त्यसपछि उहाँले सरकारबाहिर रहेका अन्य राजनीतिक दलहरुसँग पनि छलफल चलाइरहनुहुन्थ्यो ।’

कार्यक्रममा कोइरालाले कांग्रेसका तत्कालीन सभापतिको लामो गुणगान गाए । संसद पुनर्स्थापना गराउन गिरिजाले अद्भूत भूमिका निभाएको उनको भनाइ छ ।

‘संसद पुनर्सथापन हुन्छ भन्नेमा मलाई नै विश्वास थिएन । तर, गिरिजाप्रसादले एकचोटि आँटेपछि त्यसबाट पछि हट्नुहुन्थेन । उहाँले मलाई एउटा भेटमा भन्नुभएको थियो– संसद पुनर्स्थापन यसरी हुन सक्छ । तर, म बिरामी छु र नबाँच्न पनि सक्छु । तिमीहरुले यो एजेन्डा नछोड्नु । अन्ततः संसद पुनस्र्थापना भएरै छोड्यो’, कोइरालाले भने ।

उनले गिरिजाप्रसादका केही किस्साहरु पनि सुनाए । एउटा किस्सा यस्तो छः

बीपीले एकचोटि भन्नुभएछ, गिरिजा तँ मोरङको सभापति धेरै वर्ष भइस्, अब छोड्दे । धेरैलाई थाहा छैन होला यो कुरा । गिरिजाबाबुले कहिल्यै कहिल्यै नाइ नभन्ने । ‘हुन्छ सान्दाजु’ भन्नुभयो । विश्वबन्धु थापालाई सभापति बनाउने चाहना थियो बीपीको । विश्वबन्धुले बीपीलाई भन्नुभो– होइन सान्दाजु, गिरिजा दाजु पनि उठ्नुपर्यो, म पनि उठ्छु र गिरिजा हार्ने, म जित्ने स्थिति बनाउनुपर्यो । बीपीले यही प्रस्ताव गिरिजाबाबुलाई गर्नुभो । तँ उठेर हार्देन त भन्नुभो । यस्तो भनेकै हो ।

त्यो बेला गिरिजाबाबुलाई ठेस लाग्यो होला । ‘त्यो त म मान्दिनँ’ भन्नुभो । त्यसपछि विश्वबन्धु दाइ सभापति बन्नुभो । गिरिजाबाबुलाई दिक्क लाग्यो । उहाँ मनहरी दाईलाई लिएर भुटान जानुभयो । भुटानमा ३ महिना बसेर पिपुल्स पार्टी निर्माण गर्नुभयो । त्यो गिरिजाप्रसादले स्थापना गरेको पार्टी हो ।

फर्केर यहाँ आएपछि विश्वबन्धुले सभापति चलाउन सक्नुभएन । फेरि गिरिजाप्रसाद हुनुभो ।