भक्तपुर
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत भेटिएका युवकको हत्या भएको दावी गर्दै उनको परिवारले प्रहरीमा जाहेरी दिएका छन् । मृतक १९ वर्षीय युवक निरोज लामाको परिवारले जिल्ला प्रहरी परिसर भक्तपुरमा ज्यानसम्बन्धी कसुरमा निरोजकै साथी बादल तामाङविरुद्ध किटानी जोहरी दिएका हुन ।
प्रहरीका अनुसार निरोज ६ फागुनको राति बादलको घरमा गएका थिए । तर त्यसको भोलीपल्ट फागुन ७ गते निरोज बादलको घरमा मृत फेला परेका हो । दिउँसो ३ बजे मात्र बादलले साथी निरोज कोठामा अचेत अवस्थामा फेला परेको भन्दै प्रहरीलाई जानकारी दिएका थिए ।
तत्काल प्रहरी घटनास्थल पुग्दा निरोज मृत फेला परेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानेले बताउनुभयो । उहाँका अनुसार बादललाई ज्यानसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर थप अनुसन्धान हुनेछ ।
यद्यपी निरोजको हत्या हो-होइन अहिलेसम्म यकिन हुन नसकेको प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेकाले निरोजको मृत्युको कारण खुल्न बाँकी नै रहेको डिएसपी नेउपानेले बताउनुभयो ।