चाँगुनारायण, भक्तपुर ।
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत वडा नं ४ मा कचहरी नाटक प्रदर्शनी गरियो । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, ज्येष्ठ नागरिकको परिवारमा महत्त्व, परिवारका सदस्यले ज्येष्ठ नागरिक प्रति गर्नुपर्ने व्यवहार, आपसमा सहयोग र सद्भाव दर्साउने सन्देश सहितको कचहरी नाटक चाँगुनारायण नगरपालिकाका सबै वडामा प्रदर्शन गरिएको थियो ।
वडा नं ४ मा कचहरी नाटकको समापन गर्नुहुँदै वडा अध्यक्ष रोज बहादुर तामाङले ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत ज्येष्ठ नागरिकहरू विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आउनुभएकोमा खुसी व्यक्त गर्नुभयो । मिलन चौतारी मार्फत ज्येष्ठ नागरिकहरूले विभिन्न सिपमूलक तालिम लिने अवसर पाउनु भएको कुरा पनि जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिक मिलन चौतारीमा आएर भलाकुसारी गर्ने, आपसमा खुसीका साथै मनका पिडाहरू साटासाट गर्दै ज्येष्ठ नागरिकहरूले समय बिताउने गरेको बताउनुभयो । चाँगुनारायण नगरपालिकाका कार्यक्रम संयोजक दिनेश थापाले जनचेतनामूलक सन्देश सहितको कचहरी नाटकले समुदायमा ज्येष्ठ नागरिक प्रतिको सम्मान बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगर बासी ज्येष्ठ नागरिकको मुहारमा खुसी ल्याउने हेतुले चाँगुनारायण नगरपालिकाले नेपाल रेडक्रससँगको साझेदारीमा स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना सञ्चालन गरेको बताउनुभयो ।
कचहरी नाटकमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरबाट ऋषि खड्का, जयराम लामा, बाल मुकुन्द पौडेल, सुदिमा के.सी, उषा कार्की, गौतम कार्की, चाँगुनारायण नगरपालिकाबाट सुस्मिता थापा, पारु थपा, तुलसा नेपाल, र ज्येष्ठ नागरिक मिलन चौतारीबाट खिलानाथ दुलाल, सरस्वती लामिछाने र राम प्रसाद लामिछानेले अभिनय गर्नुभएको थियो ।
स्विस रेडक्रसको आर्थिक साझेदारीमा चाँगुनारायण नगरपालिकाका सबै वडामा ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत सञ्चालित परियोजनाका नेपाल रेडक्रस सोसाइटी भक्तपुरकी संयोजक उमा थापाले ज्येष्ठ नागरिकको स्वास्थ्य, सुरक्षा , सम्मान र सक्रियतालाई ध्यान दिएर सहारा परियोजना मार्फत गतिविधिहरू सञ्चालन गिरहेको बताउनुभयो । कार्यक्रममा ४ नं वडाका वडा सदस्य विजय तामाङ, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक राजु राउत, चाँगुनारायण उपशाखाका सभापति प्रशान्त पौडेल, वडा सचिव हरि गोपाल गैँडा लगायत ज्येष्ठ नागरिक मिलन चौतारीका पदाधिकारी तथा सदस्यहरू, स्थानीय प्रहरीहरू, वडाका कर्मचारीहरू लगायत समुदायका मानिसहरूको उपस्थिति रहेको थियो ।