काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा बिपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेलमाथि कालोमोसो दलिएको छ।
नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बहुमत मधेश प्रदेश समितिका कार्यकर्ताहरूले पौडेलमाथि कालोमोसो दलेका हुन्।
दुई जना पक्राउ
कालोमोसो दलिएको आरोपमा प्रहरीले अखिल (क्रान्तिकारी) बहुमतका सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिरहा जिल्ला अध्यक्ष रामदेव महरालाई पक्राउ गरेको छ।
प्राचार्य पौडेलमाथि:
-
फेल भएका विद्यार्थीलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र बिक्री गर्ने,
-
परीक्षा, मूल्यांकन र प्रमाणपत्र वितरण प्रक्रियामा घूस र कमिसनको चलखेल गर्ने,
-
आर्थिक लेनदेनको आधारमा कर्मचारी नियुक्ति गर्ने,
-
शैक्षिक माफियासँग साँठगाँठ गरी संस्थालाई निजी स्वार्थपूर्ति गर्ने माध्यम बनाउने,
-
विद्यार्थीहरूको भविष्यसँग खेलवाड गर्ने गैरजिम्मेवार र आपराधिक गतिविधिमा संलग्न भएको
जस्ता गम्भीर आरोप लगाइएको छ।
विद्यार्थी संगठनको चेतावनी
अखिल (क्रान्तिकारी) बहुमतले यस्तो गतिविधिले संस्थाको गरिमा, निष्पक्षता र विश्वसनीयता समाप्त पारिएको आरोप समेत लगाएको छ।
उक्त घटनासँगै सीटीईभीटीभित्रको पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति प्रश्न उठ्दै गएको छ। प्रहरी घटनाको अनुसन्धानमा जुटेको जनाएको छ।