भक्तपुर — चाँगुनारायण नगरपालिका वडा नं. २ ले वडाभित्र रहेका जेष्ठ नागरिकहरूको सम्मान, सशक्तीकरण र मनोबल अभिवृद्धिका लागि धार्मिक अवलोकन भ्रमणको आयोजना गरेको छ। वडाभित्रका करिब ३५० जेष्ठ नागरिकलाई ललितपुरको गोदावरी क्षेत्रको भ्रमण गराइएको वडा अध्यक्ष सोमप्रसाद प्रधानले जानकारी दिनुभयो।
भ्रमण कार्यक्रममा सहभागीहरूका लागि सांगीतिक प्रस्तुति, मनोरञ्जनात्मक क्रियाकलापसहित मनोविश्लेषक बासु आचार्य र प्रेमप्रसाद उप्रेतीद्वारा व्यवहारिक समस्या तथा समाधानसम्बन्धी परामर्श सेवा पनि प्रदान गरिएको थियो।
वडा अध्यक्ष प्रधानका अनुसार, जेष्ठ नागरिकहरू प्रायः शारीरिक तथा मानसिक अशक्तताका कारण अरूको सहारामा बस्न बाध्य हुन्छन्। यस अवस्थालाई मनोवैज्ञानिक रूपमा सम्बोधन गर्न समय–समयमा यस्ता कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले अहिले पनि जेष्ठ नागरिकहरू विभेद, हिंसा र अपमानजनक व्यवहारको शिकार भइरहेकाले समाजले उनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो।
जेष्ठ नागरिक मिलन चौतारी, वडा नं. २ का अध्यक्ष लक्ष्मीभक्त सुवालले जेष्ठ नागरिकहरू समाजको जीवित ज्ञानको भण्डार भएको बताउँदै, उनीहरूको जीवन अनुभवबाट नयाँ पुस्ताले धेरै सिक्न सक्ने धारणा राख्नुभयो।
त्यस्तै, जेष्ठ नागरिक समाज दुवाकोटका अध्यक्ष मेदीनीप्रसाद उप्रेतीले वडा नं. २ ले जेष्ठ नागरिकका लागि मैत्रीपूर्ण वातावरण निर्माण गर्न विविध कार्यक्रमहरू सञ्चालनमा ल्याएको जानकारी दिनुभयो। स्थानीय सामाजिक अभियन्ता नवराज काफ्लेले सामुदायिक भवनमा नियमित जमघट, संवाद र मनोरञ्जनात्मक कार्यक्रममार्फत वडाले जेष्ठ नागरिकहरूलाई हर्षित राख्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो।
यस कार्यक्रमले वडाभित्रको सामाजिक समावेशीकरणमा थप टेवा पुर्याउने विश्वास आयोजकको रहेको छ।