स्कुले छात्रा बलात्कार आरोपमा शिक्षक पक्राउ

587

छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले गल्छी गाउँपालिका—४गल्छीचोकमा रहेको सक्सेस इङ्लिस मिडियम बोर्डिङ्ग स्कुलका शिक्षक विष्णुलाल श्रेष्ठलाई पक्राउ गरेको छ । २७ गते मध्यराति आफनै घरमा डेरा लिई बसेकी आफ्नै १३ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । पीडित परिवारले दिएको उजूरीको आधारमा ३४ वर्षीय शिक्षकलाई वैरेनी प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

साविकको कल्लेरी–१ निवासी बालिकाका अविभावकले छोरीको पढाई कमजोर भएको भन्दै उक्त वोर्डिङ्गमा भर्ना गरी कल्लेरीमै घर भएका शिक्षक श्रेष्ठ बस्ने घरको माथिल्लो तलामा आवास व्यवस्था मिलाई दिएका थिए । श्रीमतीसहित तल्लो तलामा बस्ने श्रेष्ठले माथिल्लो तलामा पीडित बालिकासहित ८ बिद्यार्थी राखेको जिल्ला प्रहरी प्रमुख शरदकुमार खत्रीले बताए ।

घटनालगत्तै पीडित पक्षका अभिभावकहरुले जिल्ला प्रहरी कार्यालय पुगेर उजूरी गरेका थिए । शिक्षक श्रेष्ठलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ ।