भक्तपुर – भक्तपुर जिल्ला एचआइभी सङ्क्रमण र लागूपदार्थ दुर्व्यसनको उच्च जोखिममा परेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र (NCASC) को सन् २०२४ को तथ्यांक अनुसार भक्तपुरका युवामा लागूपदार्थ प्रयोग र एचआइभी सङ्क्रमणको जोखिम तीव्र रूपमा बढिरहेको छ।
केन्द्रको तथ्यांक अनुसार कलेज जाने उमेरका प्रत्येक १० युवामध्ये २ जना लागूपदार्थ दुर्व्यसनमा फसेका छन्। यसमा गाँजादेखि सुईमार्फत लागूपदार्थ प्रयोग गर्नेहरू सम्मको समावेश छ। भक्तपुरमा करिब १ हजार ३१२ देखि १ हजार ५३७ जनासम्म सुईमार्फत लागूपदार्थ प्रयोग गर्ने अनुमान गरिएको छ। तीमध्ये १ हजार १६५ देखि १ हजार ३८२ जना पुरुष र १४७ देखि १५५ जना महिला छन्।
यसरी एउटै सुईबाट धेरैले प्रयोग गर्ने प्रवृत्तिका कारण एचआइभी सङ्क्रमणको जोखिम अझ बढेको बताउँदै एचआइभी/लागूपदार्थ क्षेत्रमै क्रियाशील संस्था ‘सुरुवात’का कार्यकारी निर्देशक राजेश दिदियाले युवामा सङ्क्रमणको दर बढ्दो अवस्थामा रहेको बताए। “यदि सुरक्षित अभ्यास अपनाइएन भने सङ्क्रमणको सम्भावना १०० प्रतिशत हुन्छ,” उनले भने।
त्यस्तै, केन्द्रको तथ्यांकअनुसार भक्तपुरमा महिला, पुरुष र तेस्रो लिङ्गी यौनकर्मीसमेत उच्च जोखिममा छन्। भक्तपुरमा ४ हजार ८१८ देखि ५ हजार ४३४ महिला यौनकर्मी, ४२६ देखि ५०० पुरुष यौनकर्मी, र २६१ देखि ३२५ तेस्रो लिङ्गी यौनकर्मी रहेको अनुमान छ। साथै, पुरुषसँग यौन सम्पर्क राख्ने पुरुषको सङ्ख्या पनि ६३८ देखि ७०४ को हाराहारीमा छ।
सङ्क्रमित तर अज्ञातको सङ्ख्या उच्च
भक्तपुरमा एचआइभी सङ्क्रमणको जोखिम उच्च रहे पनि यथार्थ सङ्क्रमितको सङ्ख्या अझै अज्ञात छ। भक्तपुर अस्पतालस्थित एआरटी केन्द्रमा हालसम्म १५३ जना सङ्क्रमित मात्र दर्ता छन्, जसमा १०० पुरुष, ४५ महिला, ४ तेस्रो लिङ्गी र ४ बालबालिका छन्।
“धेरै सङ्क्रमितहरू पहिचान खुल्ने डरले भक्तपुरको एआरटी सेन्टर नआई काठमाडौँ, ललितपुर वा काभ्रेको सेवा प्रयोग गर्छन्,” काउन्सिलर सृष्टि अर्याल बताउँछिन्।
कार्यक्रम टुट्दै, जोखिम बढ्दै
जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले सङ्घीयता पछि स्वास्थ्यको जिम्मा स्थानीय तहमा पुगेको भए पनि समन्वय र स्रोत अभावले एचआइभी तथा लागूपदार्थ सम्बन्धी कार्यक्रमहरू टुटेका कारण जोखिम बढेको बताइन्।
यही कारण हालै संस्था ‘सुरुवात’ले जिल्ला स्तरीय समन्वय बैठक आयोजना गर्यो। जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले स्वास्थ्यमा प्राथमिकतासाथ बजेट विनियोजन गर्न स्थानीय तहहरूलाई आह्वान गर्यो। “विकास निर्माण जत्तिकै ध्यान स्वास्थ्यमा दिनुपर्ने बेला आएको छ,” थापाले भने।
सामाजिक भेदभाव पनि चुनौती
सङ्क्रमितहरू अझै पनि सामाजिक भेदभाव र लाञ्छनाको डरले सेवा लिन हिचकिचाइरहेका छन्। यही कारण यथार्थ सङ्क्रमित सङ्ख्या बाहिर नआएको बताइएको छ।
यसैबिच, ‘साट्क्टस्’ संस्थाका प्रतिनिधि रोशन सुवालले आफ्ना संस्थासँग २ हजार ९८३ महिला यौनकर्मी र ५ हजार ३३९ पुरुष ग्राहकहरू सम्पर्कमा रहेको जानकारी दिए। “भक्तपुर काठमाडौँ छिर्ने र निस्कने मुख्य ट्रान्जिट बिन्दु भएकाले यो सङ्ख्या अझै धेरै हुन सक्छ,” उनले भने।
विशेषज्ञहरूका अनुसार एचआइभी सङ्क्रमण र लागूपदार्थ दुर्व्यसन रोक्नका लागि प्रहरीको मात्र सक्रियता पर्याप्त छैन। विद्यालय-कलेजहरूमा लक्षित जनचेतना कार्यक्रम, समुदायमै आधारित हस्तक्षेप र समन्वित प्रयास आवश्यक छ।