भक्तपुर– भक्तपुरस्थित समुद्र सतहबाट १,३१९ मिटर उचाइमा रहेको मध्यपुर थिमीको मनोहरा फाँटमा नेपालका लागि नयाँ चरा प्रजातिको अभिलेख गरिएको छ। ‘साइबेरियन स्यान्ड प्लोभर’ नामक यस पन्छीलाई नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ दिइएको छ।
नेपालका चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेले चराको अवलोकन गर्ने क्रममा असार ६ गते पहिलोपटक उक्त चरा देख्नुभएको थियो। टोलीले सो चराको तस्बिर खिचेर प्रारम्भिक पहिचान गरेपछि नेपाल बर्ड रेकर्ड कमिटीले आवश्यक प्रमाणको अध्ययन गरी सो प्रजातिलाई नेपालको नयाँ चरा प्रजातिका रूपमा अभिलेख गरेको हो।
कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीका अनुसार प्राप्त विवरणहरूको अध्ययन, अन्तर्राष्ट्रिय पक्षी विज्ञहरूसँगको समन्वय, र फोटो–साक्ष्यका आधारमा उक्त चराको यकिन पुष्ट्याइँ गरिएको हो। उहाँले यो चरा आईयुसियन रेड लिस्ट अनुसार लोपोन्मुख सूचीमा पर्ने उल्लेख गर्नुभयो।
‘साइबेरियाली राजपुत्रिका’ प्रजाति सामान्यतया रूसको साइबेरिया क्षेत्रमा बसोबास गर्छ। तर बसाइँसराइको क्रममा यो चरा चीन, जापान, कोरिया, मलेसिया, अस्ट्रेलिया, फिजी, हङकङ, पपुवा न्यूगिनी, फिलिपिन्स, ताइवान, टिमोर, इन्डोनेसिया र न्युनिल्यान्ड लगायतका देशहरूमा पनि देखिएको छ।
यस अभिलेखसँगै नेपालको चराको कुल प्रजाति संख्या ९०२ पुगेको छ। यो उपलब्धिले नेपाल जैविक विविधताको दृष्टिकोणले अझ समृद्ध र महत्वपूर्ण स्थल रहेको पुष्टि गर्दछ।







































