पाकिस्तानमा तेल ट्याङ्करमा आगलागी, १२३ जनाको मृत्यु, एक सय भन्दा बढी घाइते

374

एजेन्सी : पाकिस्तानको पञ्जाव प्रान्तको बहलपुर इलाकामा एक तेल बाहक ट्याङ्करमा आगालागी हुँदा कम्तिमा १२० भन्दा बढीको मृत्यु भएको छ । आइतबार बिहान भएको घटनामा एक सय भन्दा बढी घाइते भएको स्थानीय अस्पताल स्रोतलाई उल्लेख गर्दै चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ।

भिक्टोरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. औरंगजेवले एक सय २० जना मृतकको शव प्राप्त भएको र एक सय जना घाइतेको उपचार गराइहेको बताएका छन् । बहलपुरको स्थानीय अहमद पुर सकिया क्षेत्रमा ट्याङ्करबाट चुहिदै गरेको तेल झिक्न जम्मा भएका स्थानीयहरु ट्यांकरमा आगालागी हुदा जलेर मारिएका हुन् ।

ट्याङकर पल्टेर आगलागी भएको हो वा स्थानीयले पिएको चुरोटबाट ट्याङ्करमा आगो लागेको हो प्रस्ट हुन नसकेको स्थानीय अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले लेखेको छ । तीनवटा वारुणयन्त्र आगो निभाउन खटिएका थिए । ट्याङकरमा लागेको आगो नियन्त्रणामा आइसकेको छ । उक्त घटनामा ७५ मोटरसाइकल र ६ वटा गाडी पनि जलेका छन् । घटनामा मृतकको संख्या बढ्न सक्ने भिक्टोरिया अस्पतालले जनाएको छ