WTT स्टार कन्टेन्डर चेन्नई २०२६ मा सहभागी हुने टेबल टेनिस खेलाडी राजीव चिकनबन्जारको बिदाइ

0

भक्तपुर । WTT स्टार कन्टेन्डर चेन्नई २०२६ मा सहभागिता जनाउन लागेका नेपालका अग्रणी टेबल टेनिस खेलाडी राजीव चिकनबन्जारको सम्मानसहित बिदाइ कार्यक्रम सम्पन्न भएको छ। भक्तपुर जिल्ला टेबल टेनिस संघको आयोजनामा आयोजित कार्यक्रममा उनलाई शुभकामना दिँदै औपचारिक बिदाइ गरिएको हो।

नेपालका राष्ट्रिय वरियतामा तेस्रो स्थानमा रहेका राजीव चिकनबन्जार हाल विश्व वरियता ४७५ औँ स्थानमा रहेका छन्, जुन हालसम्म नेपालतर्फबाट हासिल गरिएको उच्चतम विश्व वरियता हो। उनी आगामी फेब्रुअरी १० देखि १५ सम्म भारतको चेन्नईमा आयोजना हुने WORLD TABLE TENNIS (WTT) STAR CONTENDER 2026 मा सहभागी हुन लागेका हुन्।

यसअघि राजीवले भारतको गुजरात राज्यस्थित वडोदरा शहरमा जनवरी ८ देखि ११, २०२६ सम्म सम्पन्न WTT फिडर वडोदरा २०२६ प्रतियोगितामा सहभागिता जनाउँदै पुरुष ओपन विधामा टप–३२ मेन ड्र सम्म स्थान सुरक्षित गरी उल्लेखनीय सफलता हासिल गरेका थिए। उक्त प्रतियोगिताबाट उनले २५० अमेरिकी डलर पुरस्कार राशि समेत प्राप्त गरेका छन्।

वडोदरा प्रतियोगितामा भारत, नेपाल, श्रीलंका, भुटान, अमेरिका, क्यानडा, माल्दिभ्स, कोरिया, इरान, साउदी अरेबिया, जापानलगायत १० भन्दा बढी राष्ट्र का खेलाडीहरूको सहभागिता रहेको थियो। सोही उत्कृष्ट प्रदर्शनका आधारमा उनले विश्व वरियता ४७५ औँ स्थानमा उक्लिन सफल भएका हुन्।

आगामी WTT स्टार कन्टेन्डर चेन्नई २०२६ मा यसपटक २५ भन्दा बढी राष्ट्रका विश्वस्तरीय खेलाडीहरू सहभागी हुने जनाइएको छ। पुरुषतर्फ जर्मनीका डिमा ओभ्टचारोभ (WR २६), कोरियाका ओह जुनसङ (WR २२), स्वीडेनका क्रिस्टियन कार्लसन (WR ३८) लगायतका चर्चित खेलाडी सहभागी हुनेछन्।

महिलातर्फ जापानकी सात्सुकी ओडो (WR १४), कोरियाकी जु चियोन हुई (WR १६), रोमानियाकी बर्नाडेट स्जोक्स (WR २५), कोरियाकी किम नायेओङ (WR २६) र चिनियाँ ताइपेकी चेङ आइ–चिङ (WR २१) जस्ता शीर्ष खेलाडीहरूको सहभागिता रहनेछ।

राजीव चिकनबन्जारले नेपालका अन्य केही खेलाडीहरूसँगै यी विश्वस्तरीय खेलाडीहरूसँग एउटै मञ्चमा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गर्नेछन्। उनी यस प्रतियोगितामार्फत अझ उच्च विश्व वरियता हासिल गर्ने लक्ष्यका साथ तयारीमा जुटिरहेका छन्।

विशेष रूपमा उल्लेखनीय पक्ष के छ भने यस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि आवश्यक अधिकांश खर्च राजीव आफैंले व्यहोर्दै आएका छन्। यद्यपि केही कर्पोरेट संस्था, टेबल टेनिस प्रेमी तथा शुभेच्छुकहरूले आंशिक आर्थिक सहयोग गर्दै आएका छन्।

हाल उनी एपीएफ क्लब बाट व्यावसायिक रूपमा खेल्दै आएका छन्। भक्तपुरमा जन्मिएका राजीवले बेखाल टेबल टेनिस हल बाट खेल जीवनको सुरुवात गरेका हुन्। आफ्नै खर्चमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा बोकेर उभिनु देशका लागि गर्वको विषय भएको खेलप्रेमीहरूको भनाइ छ।

यसपटक भक्तपुरका टेबल टेनिस समर्थकहरूको नयाँ पहलका रूपमा राजीवसँगै दुई जना सहयोगी पनि आफ्नै खर्चमा चेन्नई जाने भएका छन्।
Everest Canvas का अजय अवाल राजीवका व्यक्तिगत प्रशिक्षक (Personal Coach) का रूपमा रहनेछन् भने Gym Junkies का सञ्चालक किरण ब्याञ्जु व्यक्तिगत फिटनेस प्रशिक्षक (Personal Fitness Instructor) का रूपमा प्रतियोगिता अवधिभर साथ रहनेछन्।

यस प्रकारको समर्पित सहयोग र सहकार्यले भक्तपुरको टेबल टेनिस वातावरण सकारात्मक दिशातर्फ अघि बढिरहेको स्पष्ट देखिएको छ। खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूको सामूहिक प्रयासले टेबल टेनिसलाई अझ सशक्त, आकर्षक र प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गरिएको छ।