काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका ले अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनःस्थापना कार्यक्रम (सीबीआर) सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको छ। गाउँपालिकाले सोमबार सूचना जारी गर्दै उक्त कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेस गर्न सम्बन्धित संस्थाहरूलाई आग्रह गरेको हो।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय को शर्तसहितको कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा समुदायमा आधारित पुनःस्थापना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। कार्यक्रमका लागि मन्त्रालयबाट तीन लाख रुपैयाँ र गाउँपालिकाबाट दुई लाख रुपैयाँ गरी कुल पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
गाउँपालिका भित्र अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनःस्थापना कार्यक्रम सञ्चालन कार्यविधिको दफा ८ बमोजिम प्रस्ताव पेस गर्न सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्ति तथा अभिभावकका लागि कानुनी तथा अपाङ्गता अधिकारसम्बन्धी वडास्तरीय तालिम, अपाङ्गता भएका व्यक्तिका लागि सीप विकास तालिम, बीउ पूँजी सहयोग तथा सहायक सामग्री—जस्तै ह्विलचेयर, वैशाखी र सेतो छडी वितरण कार्यक्रम सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ।
योग्यता पुगेका संस्थाहरूले तोकिएका कागजात संलग्न गरी सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र प्रस्ताव पेस गर्न सरोकारवाला सबैलाई गाउँपालिकाले आह्वान गरेको छ।







































