जैमिनी नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

बागलुङ । जैमिनी नगरपालिका ले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ वडा नम्बर ७ को जैदीमा सम्पन्न गरेको छ।

कार्यक्रममा नगरपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत कृष्ण पौडेल ले हालसम्म करिब ४० प्रतिशत वित्तीय प्रगति हासिल भएको जानकारी दिनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षमा ६६ लाख रुपैयाँभन्दा बढी आन्तरिक राजस्व सङ्कलन भइसकेको छ।

नगरपालिकामा रहेका ४१८ योजनामध्ये हालसम्म ३६७ वटा योजनाको सम्झौता भई कार्यान्वयन चरणमा पुगेको पनि उहाँले बताउनुभयो। साथै ‘नगरकी छोरी’ कार्यक्रम अन्तर्गत २४ जनालाई प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँका दरले खातामा रकम जम्मा गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो।

सार्वजनिक सुनुवाइमा स्थानीयले बाँदर आतङ्कका कारण गाउँमा बसोबास गर्न कठिन भएको गुनासो गरेका थिए। वन्यजन्तुले कृषि बाली नष्ट गर्दा ठूलो क्षति व्यहोर्नुपरेको भन्दै बाँदर नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन माग गरिएको थियो।

स्थानीय इन्दु शर्मा, सरस्वती शर्मा चालिसे, कमल नेपाली, तिलकबहादुर थापा, दुर्बहादुर नेपाली, किरण चालिसे, टंक राना, लोकराज शर्मा र तमसम राना लगायतले किसानले समयमै मल–बिउ नपाएको गुनासो गर्दै विपद्का बेला नागरिकलाई उचित राहतको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो।

कार्यक्रममा बोल्दै नगरप्रमुख नरबहादुर पुन ले सुशासन र पारदर्शिता कायम गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले कृषि एम्बुलेन्समार्फत किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी उपप्रमुख हरिहर शर्मा ले सीमित स्रोतसाधनका बावजुद पालिकाले नागरिकको आवश्यकता पूरा गर्न प्रयास गरिरहेको बताउनुभयो।

नेपाल पत्रकार महासंघ का सहसचिव नवराज नेपाली ले कार्यक्रममा नागरिक सन्तुष्टि सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सुशासन समितिका संयोजक तथा वडा नं. ९ का वडाध्यक्ष प्रेम सापकोटा को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।