मध्यपुर थिमी । मध्यपुर थिमीको मरुटोलमा अवस्थित श्री पद्मपाणी लोकेश्वरको परम्परागत महास्नान विधिपूर्वक सम्पन्न गरिएको छ । परम्पराअनुसार नायोपमाको अगाडि चार जना गुरुजुले चारैतिर बसेर लोकेश्वरको महास्नान गराएका थिए ।
महास्नान सम्पन्न भएपछि लोकेश्वरलाई सेतो वस्त्रले ढाकी खटमा राखेर गार्चा टोल स्थित जीस्वां बहाःमा लगिएको छ। त्यहाँ तृतीयाका दिन ‘लँपु छायेगु’ अर्थात् रंगरोगन गर्ने तथा त्यसको भोलिपल्ट दशकर्म पूजा सम्पन्न गरिने परम्परा रहेको छ।
दशकर्म पूजाअन्तर्गत लोकेश्वरलाई केटा तथा केटी दुवै स्वरूपमा गरिने विभिन्न संस्कारहरू विधिपूर्वक सम्पन्न गरिन्छ । यस क्रममा मचाबू ब्यंकेगु (न्वारान), मचा जंकु (अन्नप्राशन), इहि यायेगु तथा बरे छुइगु (चुडाकर्म) लगायतका धार्मिक संस्कारहरू गरिने चलन छ ।

सिथि नखःका दिन बिहानै लोकेश्वरलाई जीस्वां बहाः बाहिर रहेको विद्या गणेशपाटीमा खटमा राखी सर्वसाधारण दर्शनार्थ प्रदर्शन गरिन्छ । सिथि नखःको दिन जात्रा हुने भएकाले यस लोकेश्वरलाई सिथि द्यः वा लोकना द्यःका रूपमा विशेष श्रद्धाका साथ पूजा गर्ने परम्परा रहिआएको छ ।
उक्त दिन भजन–कीर्तन तथा धार्मिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साँझ स्थानीय बाजागाजासहित लोकेश्वरको खट जात्रा निकालेर पुनः मरुटोलस्थित मन्दिरमा विराजमान गराइने गर्दछ ।
थाकुलि तथा नकिं समुदायको विशेष स्वागतपछि लोकेश्वरलाई आफ्नै स्थानमा प्रतिष्ठापन गरिनेछ।
यसरी सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक विधिसँगै वर्षेनी आयोजना हुँदै आएको पद्मपाणी लोकेश्वर जात्रा समापन हुने गर्दछ। स्थानीय समुदायले यस पर्वलाई थिमीको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्दै आइरहेका छन्








































