क्यूएफएक्स सिनेमाज इटहरीकी ब्रान्च म्यानेजर अस्मिता गुरागाईं र चलचित्र पत्रकार संघ सुनसरीका तर्फबाट अध्यक्ष सुवास संकल्प श्रेष्ठ तथा सचिव मनोज दाहालले सम्झौता पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरे । सो अवसरमा संघका सल्लाहकार सुमन भट्टराई र कार्यसमिति सदस्य इजन तामाङको समेत उपस्थिति रहेको थियो ।
यसअघि पहिलो चरणको छलफलमा क्यूएफएक्स सिनेमाजका प्रोजेक्ट म्यानेजमेन्ट हेड सुशील कुमार मानन्धर, मार्केटिङ म्यानेजर शशिम शाक्य र इटहरी ब्रान्च म्यानेजर अस्मिता गुरागाईंसँग संघका तर्फबाट अध्यक्ष श्रेष्ठ र सल्लाहकार भट्टराईबीच सहकार्यको खाका बारे छलफल गरिएको थियो । लामो समयको सोही सम्वादले शुक्रबार मूर्तरूप लिएको हो ।
सम्झौता अनुसार चलचित्र पत्रकार संघमा आबद्ध सञ्चारकर्मीहरूले अब संस्थागत आधिकारिक परिचयपत्रकै आधारमा क्यूएफएक्स इटहरीमा फिल्म हेर्न पाउनेछन् । यसले पत्रकारहरूलाई फिल्मको समीक्षा र विश्लेषण गर्न थप सहज बनाउनेछ । यस्तै फिल्म प्रदर्शनअघि वा मध्यान्तरमा हलको ठूलो पर्दामा चलचित्र पत्रकार संघ सुनसरीको परिचयात्मक प्रोमो दृश्य सामग्री प्रदर्शन गरिनेछ । यसको बदलामा क्यूएफएक्स सिनेमा इटहरीका ब्यानर र विज्ञापनहरू संघमा आबद्ध पत्रकारका मिडियामा प्रकाशन/प्रसारण हुनेछन् ।
यस्तै संघले आयोजना गर्ने पत्रकार सम्मेलन वा अन्तरक्रिया जस्ता महत्त्वपूर्ण कार्यक्रमहरूका लागि खाली रहेको अवस्थामा आपसी समन्वयमा क्यूएफएक्स सिनेमाज इटहरीले निःशुल्क हल उपलब्ध गराउनेछ । सम्झौताको अर्को बुँदामा चलचित्र पत्रकार संघ सुनसरीले आयोजना गर्ने विभिन्न ठूला कार्यक्रमहरूमा क्यूएफएक्स व्यवस्थापनले स्वेच्छा र आवश्यकताअनुसार आर्थिक तथा अन्य सहयोग प्रदान गर्नेछ ।
क्यूएफएक्सले ल्याउने विशेष कार्यक्रम, फिल्म अभियान तथा अफरहरूलाई संघका पत्रकारहरूले आफ्ना मिडियामार्फत आम दर्शक र स्रोतामाझ पुर्याउन विशेष भूमिका खेल्नेछन् । यस्तै क्यूएफएक्सले सञ्चालन गर्ने सशुल्क विज्ञापन वा क्याम्पेनहरूमा संघका पत्रकारहरूसँग उनीहरूको मिडिया प्लेटफर्ममार्फत सहकार्य गरिनेछ, जसको आर्थिक पाटो आपसी सहमतिमा तय गरिने सम्झौतामा उल्लेख छ । सञ्चारमाध्यम र चलचित्र प्रदर्शन गृहबीच बलियो पुल निर्माण गर्न र दर्शकहरूमाझ सकारात्मक फिल्म संस्कृतिको विकास गर्न यो सम्झौता कोसेढुङ्गा साबित हुने दुवै पक्षले विश्वास व्यक्त गरेका छन् ।







































