भक्तपुर। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाले परिचित भक्तपुरलाई प्रविधिमैत्री पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले भक्तपुर पर्यटन विकास समिति र नेपालको चर्चित डिजिटल नेभिगेसन प्लेटफर्म ‘बाटो एप (Bato Map)’ बीच डिजिटल म्यापिङसम्बन्धी आधिकारिक सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार भक्तपुर नगरभित्रका सडक, गल्ली, सम्पदा क्षेत्र, पर्यटकीय गन्तव्य तथा महत्वपूर्ण सार्वजनिक स्थानहरूलाई अत्याधुनिक डिजिटल म्यापिङ प्रणालीमार्फत ‘बाटो एप’मा समावेश गरिनेछ। यससँगै स्वदेशी तथा विदेशी पर्यटकहरूले मोबाइलमार्फत सहज रूपमा आफ्नो गन्तव्य खोज्न, मार्गनिर्देशन प्राप्त गर्न तथा पर्यटनस्थलसम्म सुरक्षित र छिटो पुग्न सक्नेछन्।
विशेषगरी भक्तपुरका साँघुरा, परम्परागत तथा ऐतिहासिक गल्लीहरूमा नयाँ पर्यटकहरू अल्मलिने समस्या समाधान गर्न यो प्रविधि प्रभावकारी हुने विश्वास गरिएको छ। डिजिटल नेभिगेसनमार्फत पर्यटकहरूले दरबार क्षेत्र, मठ–मन्दिर, संग्रहालय, सांस्कृतिक सम्पदा, स्थानीय बजार, हस्तकला केन्द्र, होटल, रेस्टुरेन्ट तथा अन्य सेवासम्म सहज पहुँच प्राप्त गर्नेछन्।
दुवै संस्थाले यो सहकार्यले भक्तपुरको रैथाने पहिचान, कला, संस्कृति र सम्पदालाई आधुनिक प्रविधिसँग जोड्दै विश्व पर्यटन बजारमा थप प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्। यसले पर्यटकको बसाइ अवधि बढाउनुका साथै स्थानीय व्यवसाय, होटल, रेस्टुरेन्ट, हस्तकला तथा समग्र पर्यटन अर्थतन्त्रलाई समेत प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
डिजिटल प्रविधिको उपयोगमार्फत भक्तपुरलाई अझ पहुँचयोग्य, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको ‘स्मार्ट पर्यटन गन्तव्य’ बनाउने दिशामा यो सम्झौतालाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। पर्यटन क्षेत्रको डिजिटल रूपान्तरणतर्फको यो पहलले भक्तपुरको ऐतिहासिक सम्पदालाई विश्वभरका पर्यटकसँग अझ प्रभावकारी रूपमा जोड्ने विश्वास गरिएको छ।






































