काठमाडौं । काठमाडौं महानगर प्रहरीले काठमाडौंमा अवैध रूपमा सञ्चालन हुँदै आएका वधशालाहरू तत्काल हटाउन निर्देशन दिएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १९ का स्थानीय बासिन्दाबाट महानगर प्रहरीसमक्ष जनगुनासो आएपछि यस्ता बधशालाहरू तत्काल हटाउन महानगर प्रहरीले निर्देशन दिएको हो ।
“उक्त स्थानबाट जनगुनासो आएपछि हामीले बधशालाहरू मापदण्डअनुसार सञ्चालन गर्न निर्देशन दिएका हौंै,” काठमाडौं महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले भने, “निर्देशन दिन पुगेको महानगर र जनसेवा प्रहरीको टोलीले त्यहाँ सञ्चालित एक बधशाला हटाउन निर्देशन दिएको छ ।”
महानगर प्रहरी नायव निरीक्षक पूर्णचन्द्र भट्टका अनुसार वडा नम्बर १९, विष्णुमती खोलाकिनारमा सञ्चालित निरज शाहीको मासु पसल मापदण्डअनुरुप सञ्चालन नभएको बताउँदै भट्टले भने, “शाहीले आफ्नो पसलमा रोगी भैंसीको मासु बिक्री गर्ने गरेको पाइएपछि उक्त पसल सधैंका लागि बन्द गराउन निर्देशन दिइएको हो,” आइतबार दिउँसोसम्म पसल हटाइनसकिएको बताउँदै निरीक्षक भट्टले भने, “सोमबार बिहानसम्म पनि नहटाइए सोमबार दिउँसो हाम्रो टोली गएर उक्त पसल हटाउने छ ।”
के हो मापदण्ड ?
“मासु पसल वा बधशालाको पहिलो मापदण्ड सरसफाई नै हो,” प्रहरी निरीक्षक भट्टले मासु पसल वा बधशालाको मापदण्डबारे प्रष्ट पार्दै भने, “मासु पसलमा मार्बल लगाएको हुनुपर्ने, हातहतियारहरू सफा हुनुपर्ने, बध गरिने जनावर पुर्णतय स्वस्थ्य हुनुपर्ने प्रमुख मापदण्डहरु हुन् ।”
महानगर प्रहरीले यसअघि काठमाडौंको कुमारीगाल, ह्युमत, महांकाल र शङ्खमुलबाट अवैधानिक र मापदण्ड नपुगेका मासुपसलहरु सधैंका लागि हटाइसकिएको महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए ।