मलेसियाद्वारा ५९ रनको लक्ष्य प्रस्तुत

465

सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको दोस्रो खेलमा मलेसियाले नेपाललाई जितका लागि ५९ रनको लक्ष्य दिएको छ । मलेसियाले दिएको ५९  रनको सामान्य लक्ष्यसहित नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले नेपाली बलरको किफायती बलिङसामु २५ ओभर ५ बलमा अलआउट हुदैँ ५८ रन बनायो ।  नेपाली बलर हावी भएपछि मलेसियाका कुनैपनि ब्याट्सम्यानले १० रनको आँकडा पुरा गर्न सकेनन् ।

मलेसियाका भिरणदिप सिंह र  हैकल खैरले  समान ९ – ९ ,सैफुल्हा मल्लिकले ८ तथा अमर हजालनले ७ रन बनाए । मलेसियालाई सस्तैमा समेट्न कप्तान सन्दिप लामिछानेले ५ तथा पवन सर्फारले ३ विकेट लिए । सन्दिपले पहिलो खेलमा पनि ५ विकेट लिएका थिए ।  यस्तै किशोर महतो र सन्दिप सुनारले समान एक एक विकेट लिए ।
न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने लक्ष्यसहित सिंगापुर पुगेको नेपाली टोली मलेसियालाई पराजित गर्दै लगातार दोस्रो जितको खोजीमा रहेको छ । नेपालले सोमबार भएको पहिलो खेलमा घरेलु टोलि सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो । यता, मलेसिया भने पहिलो खेलमा टेष्ट राष्ट्र अफगानिस्तानसँग पराजित भएको थियो ।

सिंगापुरमा जारी ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोट डबल राउण्ड रोबिनका आधारमा हुने छ । छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुने छन् । नेपालले अहिलेसम्म ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ । नेपालले गत बर्ष बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।