डोल्पामा लेदोसहितको बाढीको कहर : एक महिलाको मृत्यु, ६ जना घाइते

0

डोल्पा— डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा निरन्तर वर्षापछि आएको लेदोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार धुलाखोलामा आएको हिलोमाटोसहितको बाढी बिहीबार बिहान करिब ३ बजे गाउँमा पसेपछि स्थानीय ५६ वर्षीया आनन्दी विकको ज्यान गएको हो।

प्रहरीका अनुसार बाढीले करिब आठ वटा घरमा क्षति पुर्‍याएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार अभियान सञ्चालन गरेको थियो। सो क्रममा घरभित्र पुरिएकी आनन्दी विकलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी काइगाउँतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी गिरीले जानकारी दिनुभयो।

घटनापछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा थप प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरीले स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार, राहत तथा क्षतिको विवरण संकलन गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ।

बाढीमा परी घाइते हुनेहरूमा स्थानीय चाउरी विक (५०), रेउली विक (४४), विष्णु विक (४८), निरुता विक (१५), सीता विक (१३) र जस विक (६५) रहेका छन्। घाइतेमध्ये पाँच जनाको उपचारपछि डिस्चार्ज गरिएको छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ। उहाँलाई हेलिकप्टरमार्फत उद्धार गर्ने वा नजिकको जुम्लास्थित अस्पतालमा लैजाने विषयमा सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।

प्रहरीका अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ भने प्रभावित क्षेत्रमा थप उद्धार तथा राहत वितरणको कार्य जारी रहेको छ।