जनकपुरधाम — धनुषाका विभिन्न होटेलमा गरिएको अनुगमनका क्रममा अखाद्य तथा म्याद गुज्रिएका खाद्यसामग्री प्रयोग भएको, पटक–पटक तताइएको तेलमा खाना पकाइएको र सरसफाइका न्यूनतम मापदण्डसमेत पालना नगरिएको भेटिएपछि १२ वटा होटेललाई पाँच हजारदेखि ७५ हजार रुपैयाँसम्म जरिबाना गरिएको छ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको संयुक्त टोलीले पूर्व–पश्चिम राजमार्ग क्षेत्र तथा जनकपुरधामका विभिन्न होटेलमा छड्के अनुगमन गरेको हो।
अनुगमनपछि मन्त्री महतोले उपभोक्ताले सुरक्षित र गुणस्तरीय खाना पाउने अधिकार सुनिश्चित गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार कतिपय होटेलमा मानव स्वास्थ्यलाई गम्भीर असर पर्ने गरी अखाद्य सामग्री प्रयोग गरिएको तथा खान अयोग्य अवस्थामा रहेका खाद्यपदार्थसमेत फेला परेका छन्।
गुणस्तर परीक्षण गर्ने उपकरणसहित गरिएको अनुगमनमा धेरै पटक प्रयोग गरेर गुणस्तर गुमेको तेलमा खाना पकाइएको, भान्साको सरसफाइ कमजोर रहेको तथा खाद्य सुरक्षासम्बन्धी न्यूनतम मापदण्डसमेत पालना नगरिएको पाइएको मन्त्री महतोले जानकारी दिनुभयो।
उहाँले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने होटेल व्यवसायीलाई कडा चेतावनी दिँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिए कानुनअनुसार अझ कडा कारबाही गरिने स्पष्ट पार्नुभयो। पर्यटन तथा धार्मिक नगरीका रूपमा परिचित जनकपुरधाममा सञ्चालित होटेलहरूले खाद्यान्नको गुणस्तर, सरसफाइ र सुरक्षित खाद्य सेवा सुनिश्चित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख विमलकुमार दाहालले होटेल अनुगमन नियमित प्रक्रिया भए पनि यसपटक कारबाहीलाई थप प्रभावकारी बनाइएको बताउनुभयो। उहाँका अनुसार पछिल्लो पाँच दिनमा ५० भन्दा बढी होटेलको अनुगमन गरिएको छ।
अनुगमनका क्रममा अधिकांश होटेलमा फोहोर भान्सा, पटक–पटक तताएर कालो बनेको तेलको प्रयोग, झिँगा भन्किएको वातावरणमा खाना तयार पारिएको तथा मासुजन्य खाद्यसामग्री अस्वच्छ अवस्थामा राखिएको भेटिएको प्रमुख दाहालले जानकारी दिनुभयो। जनकपुरधामका केही चर्चित होटेलमा समेत सरसफाइसम्बन्धी गम्भीर कमजोरी फेला परेको उहाँको भनाइ छ।
उहाँका अनुसार उपभोक्ता हित संरक्षण ऐनबमोजिम कैफियत देखिएका होटेलमाथि जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही गरिएको हो। आगामी दिनमा पनि अनुगमन अभियानलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।
अनुगमन टोलीमा सहभागी धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार निरीक्षक कृष्ण गैरेका अनुसार हालसम्म १२ वटा होटेललाई कसुरको प्रकृतिअनुसार पाँच हजारदेखि ७५ हजार रुपैयाँसम्म जरिबाना गरिएको छ। अखाद्य वस्तुको बिक्री–वितरण, म्याद गुज्रिएका खाद्यसामग्रीको प्रयोग, फोहोर भान्सा तथा सरसफाइसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही गरिएको उहाँले जानकारी दिनुभयो।








































