Home शिक्षा प्रसादीको आयोजनामा नेसनल प्याब्सनको जिल्ला स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न

प्रसादीको आयोजनामा नेसनल प्याब्सनको जिल्ला स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न

0

भक्तपुर। नेसनल प्याब्सन भक्तपुरको बोर्ड कार्यक्रम सदस्य विद्यालय प्रसादी पाठशालाको आयोजनामा जिल्ला स्तरीय अन्तरविद्यालय वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।

प्रतियोगिताअन्तर्गत कक्षा ७ तर्फ ‘विद्यार्थी जीवनमा अनुशासन कि स्वतन्त्रता’ विषयमा वादविवाद आयोजना गरिएको थियो। प्रतियोगितामा ईडेन गार्डेन स्कुलकी आरूषी महतो प्रथम, मदरल्याण्ड स्कुलकी दिपीका कार्की द्वितीय, आरक्षण नेसनल स्कुलकी यूनिशा खत्री तृतीय तथा विमल मेमोरियल विद्यापीठकी प्रिन्शा देउजा सान्त्वना भएकी छन्।

त्यस्तै, कक्षा ६ तर्फ ‘एआईले विद्यार्थीको सिकाइलाई सहज बनाउँछ कि अल्छी?’ शीर्षकमा भएको वादविवाद प्रतियोगितामा ईडेन गार्डेन स्कुलकी विश्रुति सापकोटा प्रथम, यूनिटी स्कुलका हिमांशु भट्ट द्वितीय, मदरल्याण्ड स्कुलकी कृष्टिका भण्डारी तृतीय तथा विमल मेमोरियल विद्यापीठकी भूमिका जिरेल सान्त्वना स्थान हासिल गर्न सफल भए।

कार्यक्रममा नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले सदस्य विद्यालयहरूबीच आयोजना गरिएको यस्ता प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता, तार्किक सोच तथा वाककलाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी निर्वाह गरेको प्रसादी पाठशालाप्रति आभार व्यक्त गर्नुभयो।

प्रतियोगिताका निर्णायकमा वरिष्ठ साहित्यकार डा. सीता सुवेदी र नेत्रप्रसाद घिमिरे रहनुभएको थियो।

कार्यक्रममा नेसनल प्याब्सन भक्तपुरका सहसचिव तथा प्रसादी पाठशालाका प्रिन्सिपल दिनेश शाक्यले प्रतियोगिता आयोजना गर्ने अवसर प्रदान गरेकोमा नेसनल प्याब्सन भक्तपुरप्रति धन्यवाद व्यक्त गर्नुभयो।

प्रतियोगितामा विभिन्न सदस्य विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।