बुटवल उपमहानगरपालिकाको ३ अर्ब ९९ करोडको बजेट, ‘बस्नयोग्य बुटवल शहर’ निर्माणमा जोड

0

बुटवल  — रूपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल ले बुधबार सम्पन्न नगरसभामा उक्त बजेट प्रस्तुत गर्नुभएको हो।

‘समानता, स्वाभिमान र अवसर, बस्नयोग्य बुटवल शहर’ भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको बजेटमा विकास, सामाजिक न्याय र आर्थिक समृद्धिलाई प्राथमिकतामा राखिएको छ। प्रस्तुत बजेटअनुसार कुल खर्चमध्ये ५२ प्रतिशत चालुतर्फ र ४८ प्रतिशत पुँजीगततर्फ विनियोजन गरिएको छ।

उपमहानगरपालिकाले सामाजिक विकास क्षेत्रमा २८ प्रतिशत तथा आर्थिक विकास क्षेत्रमा १२ प्रतिशत बजेट छुट्याएको जनाएको छ। शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार विकास, उद्यमशीलता प्रवर्द्धन तथा नगरको समग्र विकासलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको उपमहानगरपालिकाले जनाएको छ।

संघ र प्रदेशबाट अनुदान

बजेटका लागि संघीय सरकारबाट २९ करोड २२ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान, ५० करोड २५ लाख रुपैयाँ सशर्त चालु अनुदान, ७ करोड ४ लाख रुपैयाँ सशर्त पुँजीगत अनुदान, ९० लाख रुपैयाँ विशेष अनुदान तथा २० लाख रुपैयाँ समपूरक अनुदान प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै प्रदेश सरकारबाट २ करोड ३ लाख ६५ हजार रुपैयाँ समानीकरण अनुदान, ५६ लाख ५० हजार रुपैयाँ सशर्त चालु अनुदान, १ करोड ७३ लाख रुपैयाँ सशर्त पुँजीगत अनुदान, १ करोड ५० लाख रुपैयाँ समपूरक अनुदान तथा २० लाख रुपैयाँ विशेष अनुदान प्राप्त हुने प्रक्षेपण गरिएको छ।

आन्तरिक आम्दानीमा उच्च लक्ष्य

उपमहानगरपालिकाले संघीय राजस्व बाँडफाँटबाट १९ करोड ४३ लाख ८६ हजार रुपैयाँ तथा प्रदेश राजस्व बाँडफाँटबाट २ करोड ७५ लाख ६१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।

त्यसैगरी स्थानीय आन्तरिक स्रोतबाट १ अर्ब ५० करोड ३८ लाख ५९ हजार २ सय रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। विज्ञापन कर, मनोरञ्जन कर तथा ढुङ्गा–गिट्टी–बालुवा (दहत्तर–बहत्तर) बिक्रीबाट ७८ करोड ७७ लाख ७८ हजार ८ सय रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

गत आर्थिक वर्षको ४० करोड रुपैयाँ बचत (अल्या) समेत समावेश गरी कुल स्रोत व्यवस्थापनको आधार तयार गरिएको उपमहानगरपालिकाले जनाएको छ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले बजेट निर्माण प्रक्रियामा सहयोग पुर्‍याउने राजनीतिक दल, व्यावसायिक तथा सामाजिक संघसंस्था, जनप्रतिनिधि, नगर प्रमुख तथा सम्पूर्ण नगरवासीप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि नगरको समृद्धि र विकासका लागि सकारात्मक सुझाव, रचनात्मक सहयोग तथा सहकार्यको अपेक्षा गर्नुभयो।

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत पूर्वाधार विकास, सामाजिक सेवा विस्तार, आर्थिक गतिविधि प्रवर्द्धन तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।