भक्तपुरमा इँट्टाको अभाव, भूकम्पपीडित प्रभावित

366

भक्तपुर ।  भूकम्पले भत्काएका घरको पुनः निर्माण तीव्र गतिमा भइरहेको समयमा उत्पादन नहुँदा इँट्टाको चरम अभाव भएको छ । इँट्टा उत्पादन नहुँदा बन्दै गरेका घरको निर्माण रोकिएकाले भूकम्प प्रभावित यसको प्रत्यक्ष मारमा परेका छन् । सूर्यविनायक नगरपालिका–१ का मोहन बस्नेतले घर बनाउन शुरु गरे पनि इँट्टा अभाव भएपछि काम रोकिएको बताए ।

इँट्टा नपाइएको, सिमेन्ट र डण्डीको पनि मूल्य वृद्धि गर्दा घर निर्माणमा समस्या आएको उनले गुनासो गरे । भक्तपुर नगरपालिका–३ का पुरुषोत्तम श्रेष्ठले पनि घर निर्माणका क्रममा इँट्टा अभावका कारण केही समयलाई निर्माण कार्य रोक्नु परेको बताए । माघको पहिलो सातामा इँट्टा पाइन्छ भनेकाले इँट्टा कुरेर बसेको उनको भनाइ थियो ।

यी दुई पात्र नमूना मात्रै हुन् । भक्तपुरमा इँट्टा सकिएपछि उपत्यकाभित्रकै भवन निर्माणमा असर परेको बताइएको छ । भक्तपुर इँट्टा व्यवसायी संघले भवन निर्माणको गति तीव्र भएको र स्टक इँट्टा सकिएकाले इँट्टाको अभाव भएको जनाएको छ ।

इँट्टा व्यवसायीका अनुसार अब उत्पादन हुने इँट्टाको मूल्यसमेत वृद्धि हुनेछ । कोइलाको मूल्य वृद्धि भएको, ढुवानी भाडामा वृद्धि भएको र नगरपालिकालाई कर तिर्नुपर्ने भएकाले इँट्टाको मूल्य वृद्धि हुने व्यवसायीको भनाइ छ ।